नेपालगन्ज : कुष्ठरोगका ६० जना नयाँ संक्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । फेला परेका मध्ये सबैभन्दा बढी बाँकेका मात्रै २९ जना छन् ।
यस्तै भारतका १५ जना, बर्दियाका ९, सल्यान र रुकुमका २/२ जना तथा रोल्पा, हुम्ला र सुदुरपश्चिमका १/१ जना रहेका छन् । यसअघि अघिल्लो आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा ५१ जना कुष्ठरोगका संक्रमित फेला परेका थिए । अस्पतालमा २०७९/०८० भरी कुल १ सय २६ जनामा संक्रमण पुष्टी भएको थियो ।
साईनिङ अस्पताल, आईएनएफ बाँकेका प्रमुख चौधरीका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाभित्र फेला परेका बाँकेका २९ जना संक्रमित मध्ये सबैभन्दा बढी खजुरा गाउँपालिकाका ९ जना रहेका छन् । यस्तै नेपालगन्ज उपमहानगरपालिका, जानकी र खजुरा गाउँपालिकाका ४/४ जना रहेका छन् ।
यसैगरी कोहलपुर नगरपालिकाका ३ जना, बैजनाथ र डुडुवा गाउँपालिकाका २/२ र राप्ती सोनारीका १ जना संक्रमित रहेको प्रमुख चौधरीले बताए । ‘चालु आर्थिक वर्षको ६ महिनामा फेला परेका ६० मध्ये १३ जना समुदाय स्तरमा गरिएको कन्ट्रयाक टे«सिङबाट फेला परेका हुन्,’ उनले भने ।
चालु आर्थिक वर्षको ६ महिनामा अस्पतालले ८ हजार ६ सय २ जनालाई सेवा दिएको जनाएको छ । कुल २४ बेडबाट सञ्चालित उक्त अस्पतालमा यस अवधिभित्र ५३ जना कुष्ठरोगका संक्रमित भर्ना भएका छन् । अस्पतालले ५ हजार ३ सय ४९ जनालाई प्रयोगशाला सेवा दिएको जनाएको छ । अस्पतालले मंगलबार पत्रकारसँग गरेको अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो ।