नेपालगन्ज : नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा निर्माण भएको एकिकृत भन्सार जाँच चौकी (आईसिपी) सञ्चालन हुन ढिलाई भएको छ । आईसिपीको गत जेठमा भारत भ्रमण गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका थिए । निकै तामझामका साथ आईसिपी उद्घाटन भएको ८ महिना पुरा भईसक्दा पनि सञ्चालन गर्न अझै सुरसार गरिएको छैन ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा आईसिपीका ठुला पुर्वाधार निर्माण भएपनि अझै केही मसिना काम बाँकी छन् । आईसिपी निर्माणका लागि भारतको ‘राजदिप कन्स्ट्रक्सन कम्पनी’ ले १ अर्ब ४७ करोड (भारु) मा ठेक्का पाएको थियो । सन् २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएकोमा उक्त कम्पनीले दुई वर्षभित्रमा सबै काम सम्पन्न गर्ने समय पाएको थियो । तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेको उक्त ठेकेदार कम्पनीले अहिलेसम्म दुई पटक म्याद थपिसकेको छ ।
उक्त आईसिपी निर्माणमा भारतीय परामर्शदाता कम्पनी ‘राईट्स’ले जिम्मा पाएको छ । उक्त कम्पनीका प्रतिनिधि गोविन्द नायकले यसबारेमा सबै कुरा बोल्न चाहेनन् । आईसिपीमा अब थोरै मात्र काम बाँकी रहेको उनले सुनाए । ‘अब थोरै काम मात्र बाँकी छ,’ नायकले भने । भारत सरकारले यसअघि सन् २००५ मा नेपालको बिराटनगर, बीरगन्ज, नेपालगन्ज र भैरहवा नाकामा आईसिपी निर्माण गरिदिने सहमती जनाएको थियो ।
भारतकै सहयोगमा नेपालगन्ज नाकामा आईसिपी निर्माण गर्न २०६७ सालमा नेपाल सरकारले जयसपुरमा जग्गा अधिग्रहण गरेको थियो । आईसिपी निर्माणका लागि नेपालकोतर्फबाट सहजीकरण गर्ने जिम्मा पाएको संघिय आयोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जका प्रमुख विजय केशर खनालले भौतिक पुर्वाधारको काम लगभग सम्पन्न भएपनि नेटर्वकिङ, सिसि क्यामेरा जडान जस्ता काम मात्र अब बाँकी रहेको सुनाए ।
‘भारत सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने ठेकेदार र परामर्शदाता कम्पनी पनि भारतकै हुन्, ठेकेदारको भुक्तानी हुन बाँकी रहेको देखिन्छ, भुक्तानी बाँकी भएको हुनाले आईसिपीमा नेटवर्किङ, सिसि क्यामेरा जडान जस्ता कामहरु हुन सकेको छैन,’ उनले भने । ठेकेदार कम्पनीले यही अवस्थामा निर्मित संरचना प्रयोग गरेर आईसिपीको काम काज सञ्चालन गर्न अनुमति दिएपनि अत्यावश्यक मानिने नेटवर्किङ र सिसि क्यामेरा जडान नहुँदा त्यो सम्भव नभएको खनालले बताए ।
ठेकेदार कम्पनीले गत जनवरी १५ बाट आईसिपी हस्तान्तरणको तयारी गरेपनि हुन नसकेको उनले बताए । ‘अहिलेसम्म जे पुर्वाधार बनेको छ, यसबाट काम अगाडी बढाउन सकिन्छ कि भनेर हामीले अध्यागमन, भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टाइन जस्ता सरोकार राख्ने कार्यालयसँग छलफल गरेका थियौं, तर उहाँहरुले यही अवस्थामा काम गर्न गाह्रो हुन्छ भनेर भन्नुभयो,’ खनालले भने ।
भारतीय ठेकेदारले कहिले हस्तान्तरण गर्छ भन्नेमा अझै एकिन नभएको उनी बताउँछन् । नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ विघा जग्गामा आईसिपी निर्माण गरिएको छ । कार्यालयका अनुसार २ हजार २ सय मिटर लम्बाई र ६० मिटर चौडाईमा छुट्टै आईसिपीका लागि ‘एप्रोज रोड’ निर्माण गरिएको छ ।
आईसिपी निर्माण भएपछि सबै सेवा सुबिधा एकै ठाउँमा प्राप्त गर्न सकिने भएकाले राहत मिल्ने यहाँका उद्योगी, ब्यवसायी बताउँछन् ।
आईसिपी उद्घाटन भएपनि सञ्चालनमा नआउँदा उद्योगी, ब्यवसायीले समस्या खेप्नु परिरहेको नेपाल जडिबुटी ब्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए । ‘उद्घाटन भईसकेको आईसिपी अहिलेसम्म पनि सञ्चालन हुन सकेको छैन,’ उनले भने ‘छिटो सञ्चालनमा आएपछि हामी उद्योगी, ब्यापारीलाई एउटै ठाउँबाट काम गराउन सजिलो हुन्थ्यो ।’
आईसिपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टाइन, गोदाम, खाद्य प्रबिधी तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैंक काउण्टर लगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ । माल सामान बोकेर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ दैनिक रुपमा सयौंको संख्यामा ट्रक, ट्यांकर तथा कन्टेनर आवत-जावत गर्छन् । समयमा आईसिपी सञ्चालन नहुँदा अहिलेसम्म सडकमै सवारी साधन रोकेर भन्सार जाँचपास गर्नुपरेको नेपालगन्ज भन्सार कार्यालयका कर्मचारी बताउँछन् ।
कार्यालयका भन्सार अधिकृत पूर्णप्रसाद लम्साल आइसिपी सञ्चालन भएपछि जाँचपासको प्रक्रिया सबै एकै ठाउँबाट हुने भएकाले कर्मचारी र ब्यवसायी सबैलाई राहत मिल्ने बताए । ‘जाँचपासको सबै काम एउटै ठाउँबाट हुँदा ब्यवसायीको लागत घट्छ, सबैलाई काम गर्न पनि सजिलो हुन्छ,’ सूचना अधिकारी लम्सालले भने ।