बाँके (खजुरा) : खजुरा गाउँपालिकामा आइतबारदेखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा आएको छ । ‘उपाध्यक्षसँग कार्यक्रम’ अन्तरगत गाउँपालिकाको ८ वटै वडामा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा स्त्रीरोग विशेषज्ञ चिकित्सकद्धारा महिलाको स्वास्थ्य जाँच गरिएको गाउँपालिका स्वास्थ्य शाखाकी नर्सिङ अधिकृत लक्ष्मी केसीले जानकारी दिइन् । शिविरको पहिलो दिन खजुरा गाउँपालिका वडा नम्बर ८ स्थित रनियापुर स्वास्थ्य चौकीमा ८५ जना महिलाका स्वास्थ्य परिक्षण गरिएको छ ।
नेपालगन्जस्थित वेष्टर्न अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. कल्पना थापाले स्वास्थ्य जाँच गरेकी थिइन । शिविरमा १५ वर्षभन्दा माथीका किशोरी तथा महिलाले स्वास्थ्य जाँच गराए । उक्त शिविरमा स्वास्थ्य जाँच गराएका मध्ये पाठेघर खसेका ७ जनालाई नेपालगन्ज रेफर गरिएको छ ।
यस्तै २ जना महिलाको पाठेघरमा रिङ हालेर उपचार गरिएको छ । शिविरमा आएका २२ जना महिलाको पाठेघर मुखको क्यान्सर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । उक्त शिविर उद्घाटन कार्यक्रमको अध्यक्षता खजुरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष फिरोज खानले गरेका थिए ।
शिविर उद्घाटन कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा. थापा, खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टेकबहादुर रानाक्षेत्री, कार्यपालिका सदस्य सुब्बुन धोबी र खतमुलनिशा साई, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, योजना अधिकृत केशव बुढा, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका लगायतको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रममा स्वास्थ्य शाखाकी नर्सिङ अधिकृत केसीले उद्देश्य र महत्वबारे प्रष्ट्याएकी थिइन् ।