नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/०८१ को साढें ८ महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार राजश्व उठाउने लक्ष्य राखेको छ । कार्यालयले मासिक रुपमा लिएको लक्ष्य अनुसार पनि राजश्व संकलन कम भएको देखिन्छ ।
कार्यालयले चालु आर्थिक वर्षको साउन महिनादेखी यही फागुन २० गतेसम्म ११ अर्ब १० करोड ३७ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन गरेको भन्सार अधिकृत एवम् सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । संकलन भएको राजश्व ६१ दशमलभ ९० प्रतिशत हो । कार्यालयले दैनिक रुपमा औषत ८ करोड ३३ लाख ९३ हजार रुपैयाँका दरले राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।
कार्यालयले चालु वर्षको साउन महिनाका लागि मात्रै एक अर्ब ८१ करोड ३० लाख ८४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ४१ करोड ४० लाख ९८ हजार रुपैयाँ संकलन गरेको छ । भदौं महिनामा २ अर्ब २२ करोड १४ लाख ५८ हजार संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ४५ करोड ११ लाख ८० हजार संकलन भएको पाइएको छ ।
यस्तै असोज महिनामा २ अर्ब ४४ करोड ५३ लाख ८६ हजार संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ४८ करोड ६० लाख ९९ हजार संकलन भएको छ । कात्तिक महिनामा २ अर्ब ३८ करोड ९१ लाख ९२ हजार संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब २४ करोड २१ लाख ५० हजार संकलन गरेको सूचना अधिकारी लम्सालले जानकारी दिएका छन् ।
कार्यालयले मंसिर महिनामा २ अर्ब ५२ करोड ३६ लाख ६६ हजार संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ५५ करोड ८९ लाख ९९ हजार रुपैयाँ संकलन गरेको छ । त्यस्तै पुस महिनामा २ अर्ब ५६ करोड ६० लाख ६६ हजार संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ५३ करोड ५५ लाख ५६ हजार रुपैयाँ संकलन भएको छ । त्यसैगरी माघ महिनामा २ अर्ब ३१ करोड ४२ लाख १२ हजार संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ३१ करोड ८१ लाख २२ हजार संकलन भएको छ ।
कार्यालयले फागुन महिनामा २ अर्ब ५० करोड १७ लाख ६५ हजार संकलन गर्ने लक्ष्य राखेकोमा यही फागुन २० गतेसम्म १ अर्ब ९ करोड ७५ लाख ८६ हजार रुपैयाँ संकलन गरेको सूचना अधिकारी लम्सालले बताए । कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा २ अर्ब ४५ करोड ३ लाख ७४ हजार, बैशाख महिनामा २ अर्ब ४७ करोड २५ लाख १२ हजार, जेठ महिनामा २ अर्ब ४९ करोड ६६ लाख १ हजार र असार महिनामा २ अर्ब ४६ करोड ८२ लाख १९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । नेपालगन्ज नाका हुदै भारतबाट पेट्र«ोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफुल आयात(पैठारी) र नेपालगन्जबाट जडिबुटी लगायतका बस्तुहरु भारततर्फ निकासी हुने गरेको छ ।