बाँके(सम्शेरगन्ज) : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ सम्शेरगन्जमा बसको ठक्करबाट मृत्यु भएका ब्यक्तिका परिवारलाई क्षतिपुर्ति दिने विषयमा भएको छलफल बिना निस्कर्ष टुंगिएको छ । पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ७४४८ नम्बरको बसले सडक छेउमा हिडिरहेको अवस्थामा पछाडीबाट ठक्कर दिदा सोमबार दिउँसो पौने १ बजेतिर राप्ती सोनारी ८ बालापुर निवासी २४ वर्षकि चन्द्रा बुढाथोकी खड्काको घटनास्थलमै र राप्ती सोनारी ८ ओभरी निवासी ३६ वर्षकी गिता चौधरीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले सोमबार बेलुका र मंगलबार बिहान पुर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । सडकमा टायर बालेर गरिएको चक्काजामका कारण सोमबार बेलुका करिव ३ घण्टा र मंगलबार बिहान ११ बजेदेखी करिव २ घण्टा सवारी आवत जावत ठप्प भएको थियो ।
पुर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा दसैँ मनाउन टाढा जाने यात्रु अलपत्र परेपछि प्रहरीले माग पुरा गर्न पहल गर्ने आश्वासन दिएर बाटो खोलेको थियो । प्रहरीको रोहवरमा मृतकका आफन्त र बस समितिबीच दिनभर भएको छलफलमा क्षतिपुर्ती रकममा सहमती नहुँदा बिना निस्कर्ष टुंगिएको वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतले जानकारी दिए । ‘दिनभर मृतकका आफन्त र बस समितिबीच छलफल भयो, तर छलफलबाट ठोस सहमती हुन सकेन,’ उनले भने ।
छलफलमा सहभागी सम्शेरगन्जका अगुवा भिम खड्काले दिएको जानकारी अनुसार पीडित पक्षले बिमाबाट पाउने ५ लाख रकम बाहेक मृतकका बालबच्चाको शिक्षा दिक्षा, पालन पोषणका लागि भन्दै थप ५ लाख रुपैयाँ दिनुपर्ने अडान राखेका थिए । तर, बस समितिले बीमा कम्पनीले दिने ५ लाख बाहेक डेढ/डेढ लाख भन्दा बढी रकम दिन नसकिने बताएपछि छलफल बिना निस्कर्ष टुंगिएको खड्काले बताए ।
‘दिनभर भएको छलफल सहमती नभएरै टुंगियो, यदी भोली बिहान पुनः छलफलमा बसेर सहमती भएन भने पुनः राजमार्ग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ,’ । इलाका प्रहरी कार्यालय कोहलपुरले ठक्कर दिने बस र चालक निरज बहादुर लोहारलाई नियन्त्रणमा लिइसकेको जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा बसले पुलको डिलमा हिडिरहेका दुबै जनालाई घिसार्दै लगेको देखिएको छ ।
‘मृतक दुबै जनाले आफ्नो ज्यान बचाउनलाई पुलको पेटीमा चढेका रहेछन्, तर बसले त्यहाँबाट उनीहरुलाई घिसार्दै किचेको देखिन्छ, यसमा चालकको गम्भिर लापरबाही छ,’ आक्रोशित स्थानीय भन्छन् । घटनापछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शोकमा डुबेको छ । दसैँको मुखमा एउटै वडामा दुई जनाको मृत्यु भएपछि राप्ती सोनारी ८ अन्तर्गत पर्ने सम्शेरगन्ज, बालापुर, ओभरी लगायत सबै गाउँ शोकमा डुबेको स्थानीय एवम् शिवशक्ती माध्यामिक बिद्यालयका प्रधानाध्यापक पुस्करराज खड्काले बताए ।
यो पनि पढ्नुस् :
सम्शेरगन्जमा अवरुद्व पुर्ब-पश्चिम राजमार्ग खुल्यो
क्षतिपुर्ती र चालकलाई कारबाही माग गर्दै पुर्ब-पश्चिम राजमार्गको सम्शेरगन्जमा राजमार्ग अवरुद्घ