बाँके(सम्शेरगन्ज) :
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ सम्शेरगन्जमा सोमबार दिउँसो पैदल हिडिरहेका दुई जना महिलालाई यात्रु बाहक बसले ठक्कर दिदाँ एकै दिन मृत्यु भयो ।
पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्बरको बसले सडक छेउमा हिडिरहेको अवस्थामा पछाडीबाट ठक्कर दिदा सोमबार दिउँसो पौने १ बजेतिर राप्ती सोनारी ८ बालापुर निवासी २४ वर्षकी चन्द्रा बुढाथोकी खड्काको घटनास्थलमै र राप्ती सोनारी ८ ओभरी निवासी ३६ वर्षकी गिता चौधरीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दसैँको मुखमा भएको यो घटनाले राप्ती सोनारी ८ अन्तर्गत पर्ने सम्शेरगन्ज, बालापुर, ओभरी लगायत पुरै गाउँ यतिबेला शोकमा डुबेका छन् । गाउँमा महान चार्ड दसैँको खासै उल्लास देखिदैन । मृतकको शव अन्त्येष्टी भएको छैन । बसको ठक्करबाट मृत्यु भएका ब्यक्तिका परिवारलाई क्षतिपुर्ति दिने विषयमा छलफल भएपनि सहमती हुन सकेको छैन । यसले गर्दा दुबै मृतकको शव पोष्टमार्टम नगरेरै अस्पतालमा राखिएको छ ।
घटना भएको तीन दिन भइसक्दा पनि परिवार र आफन्तले शव बुझेका छैनन् । बस चालकले जानी-जानी छेउमा गएर किचेको भन्दै उनीहरुले चालकलाई कडा कारबाही र मृतकका बाल बच्चाको शिक्षा दिक्षा तथा पालनपोषणका लागि उचित क्षतिपुर्ति दिनुपर्ने माग गरिरहेका छन् ।
दवाव स्वरुप स्थानीयले सोमबार बेलुकी र मंगलबार दिउँसो केहीबेरसम्म राजमार्ग अवरुद्ध पनि गरे । एकातिर दिनहुँ चर्किरहेको आन्दोलन, अर्कोतिर एउटै वडाबासीको मृत्यु र मृतकको शव अस्पतालमै राखिएको अवस्थाका कारण दसैँ मनाउने स्थिती नै नरहेको ओभरीकी स्थानीय समेत रहेकी राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री बताउँछिन् ।
‘सम्शेरगन्ज, बालापुर र ओभरीमा मृतकका नालनाता धेरै छन्, त्यसकारण हर्ष र उल्लासका साथ दसैँ मनाउने स्थिती नै भएन, गाउँ पुरै शोकमा डुबेका छन्, गाउँमा दसैँको उल्लास नै छैन,’ उनले भनिन् । विजया दशमी अन्तर्गत बुधबार(आज) अष्टमी पर्व हो । आजको दिनमा घर-घरमा बली दिने धार्मिक प्रचलन छ । तर, सम्शेरगन्ज घटनाले विजया दशमीको सप्तमीदेखी उल्लास नै हराएको वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतले बताए ।
‘बसले ठक्कर दिएर बालापुर र ओभरीका दुई जनाको एउटै घटनामा निधन भयो, भोलीपल्ट (मंगलबार) बालापुरमै अर्का एक जनाको कालगतिले निधन भयो, मेरै आफन्तको पनि निधन भएको छ,’ उनले भने ‘एकपछि अर्को भइरहेका घटनाले हामीलाई दसैँ आएको अनुभुती छैन, हामी दौडधुपमै ब्यस्त छौं ।’
वडा नम्बर ८ का स्थानीय एवम् शिवशक्ती माध्यामिक बिद्यालयका प्रधानाध्यापक पुष्करराज खड्काले असाध्यै दर्दनाक स्थिती रहेको बताए । ‘चाडपर्वको मुखमा सबै जना मान्छेहरु बाहिरबाट घरमा आएपनि शोकमग्न अवस्था छ,’ उनले भने ।
यो पनि पढ्नुस् :
सम्शेरगन्ज दुर्घटना : बस समिति र पीडित पक्षबीच सहमती हुन सकेन
सम्शेरगन्जमा अवरुद्व पुर्ब-पश्चिम राजमार्ग खुल्यो
क्षतिपुर्ती र चालकलाई कारबाही माग गर्दै पुर्ब-पश्चिम राजमार्गको सम्शेरगन्जमा राजमार्ग अवरुद्ध
भिडियो रिपोर्ट हेर्नुस् :