नेपालगन्ज : परिवारकी एक्ली छोरी सरिता खनाललाई पढेर राम्रो सरकारी जागिर खाएको देख्न चाहन्थ्ये, बुवाआमा । बर्दिया, बढैयाताल गाउँपालिका वडा नम्बर २ शिवशक्तिपुरमा २०४७ साल फागुन २३ गते बुवा यमकान्त खनाल र आमा बन्दना खनालको कोखबाट जन्मिएकी सरिताले स्थानीय सरस्वती माध्यामिक बिद्यालयबाट एसएलसी उतीर्ण गरिन् ।
शारदा उच्च माध्यामिक बिद्यालय मैनापोखर बर्दियामा ‘प्लसटु’ सकेर स्नातक तह अध्ययन गर्न महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भर्ना भइन् । स्नातक अध्ययन गर्ने क्रममै उनको मनमा दिनदुःखीको सेवा गर्ने सोच जाग्यो । अध्ययनकै शिलशिलामा २०७१ सालतिर आफ्नै खर्चमा सरिता जापान पुगिन् । त्यहाँ बसेर करिव दुई महिनाजति ‘सिनियर सिटिजन्स केयर’ नामक तालिम लिइन् ।
नेपाल, थाईल्याण्ड, फिलिपिन्स र जापानका समेत गरी करिव ७० जनासँग तालिम लिएर फर्केपछि पशुपति बृद्धाआश्रममा केही समय स्वयं सेवा गरिन् । जापान जाने तयारीमा रहेका सरिताका एक मात्र भाई बिदुर खनालको २०७२ मंसिर २९ गते सवारी दुर्घटनामा परी ज्यान गयो । जिवित रहँदा बिदुरले सरितालाई सधैं भन्ने गथ्र्ये, ‘दिदी हामीले एकदिन बृद्धाआश्रम खोलेर दिन दुःखीको सेवा गर्नुपर्छ है ।’
भाईले बोलेका यि शब्दहरु सरिताका मनभित्र खेलिरहे । त्यसपछि उनले बृद्धाश्रम नै खोल्ने निधो गरिन् । तर, घर परिवारले अनुमति नै दिएन । घरबाट निस्केर भएपनि २०७३ असोज १२ गतेबाट नेपालगन्जस्थित विपी चोक नजिकै ‘निलसागर सेवा आश्रम’ औपचारिक रुपमा सञ्चालन गरिन् । मासिक ५० हजार घर भाडामा लिएर आश्रम खोल्दा अध्यक्ष सरिता खनाल, उपाध्यक्ष अमन सुवेदीसहित ११ जना आवद्ध थिए ।
‘सुरुमा ९ जना बुवाआमालाई ल्याएर आश्रम खोलेको अहिले पनि मलाई स्मरण छ,’ सरिता भन्छिन् ‘त्यो बेला धेरै दुःख, संघर्ष गरियो ।’ आश्रमलाई पछि विपी चोक नजिकबाट फुलटेक्रातिर सारियो । अहिले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ शान्तिनगरमा भाडामै आश्रम सञ्चालनमा छ ।
आश्रमको मुख्य कार्यालय नेपालगन्जमा मात्रै अहिले २ सय २५ जना बालबालिका, असहाय, जेष्ठ नागरिकले आश्रय लिइरहेका छन् । ‘आश्रम चलाउँदा कुनै दिन त यस्तो पनि भयो, मैले आफ्नो सुनको औठी र सिक्री बेचे, घरमा आमाको मंगलशुत्र(सुन) बेचेर पनि आश्रमको खर्च टारेको छु,’ सरिता स्मरण गर्छिन् ।
आश्रमको नेपालगन्ज बाहेक करिव आधा दर्जन ठाउँमा पनि शाखा खुलेका छन् । आश्रमको कोहलपुर शाखामा ३८ जना, दाङमा ५०, बर्दियामा ३५, पाल्पामा २९ र पोखरामा ४० जनाले आश्रय लिइरहेका छन् । आश्रमको केन्द्र र शाखामा गरेर ७० जना बालबालिका छन् । यि मध्ये ६० जना बालबालिकाले बोर्डिङ स्कुलमा र ५ जनाले कलेज पढ्छन् । बाँकी ५ जना पढ्ने उमेर नपुगेका बालबालिका छन् ।
सडकमै गर्भ बोकेका ८ जना महिलाबाट जन्मेका शिशु यही आश्रममा जन्मे, हुर्केर अहिले पढ्न बिद्यालय जान्छन् । आश्रमको केन्द्र र शाखाको घर भाडा, खाना, औषधी उपचार, शिक्षा लगायतमा मासिक रुपमा करिव २२ लाख खर्च हुने सरिता बताउँछिन् । नेपालगन्जमा मात्रै आश्रमका १२ जना कर्मचारीलाई मासिक १ लाख ४० हजार तलब दिनुपर्छ । ‘सरकारी निकायबाट आश्रमलाई २५ प्रतिशत मात्रै अनुदान आउँछ, अरु रकम दाताबाट उठ्छ, कतिले जन्मदिन, बैबाहिक उत्सव जस्ता कार्यक्रम आश्रममा आएर मनाउनु हुन्छ र खाना खुवाउनु हुन्छ,’ उनले भनिन् ।
नेपालगन्जकी दाता छत्रकुमारी राणाले नेपालगन्ज–६ फुलटेक्रामा दान गरेको २ कठ्ठा जमिनमा आश्रमले आफ्नै भवन बनाउँदैछ । तर बजेट अभाव हुँदा भवन निर्माणको काम अधुरै रहेको छ । आश्रममा ध्यान, योग, खेलकुद, नृत्य, तालिम दिइन्छ । ‘आश्रम सञ्चालन भएदेखी हालसम्म ३ हजार २ सय जनालाई हामीले पारिवारीक पुर्नमिलन गराएका छौं, आश्रममा निधन भएका २ सय १४ जनाको आफैले दाह संस्कार गरेका छौ,’ ३३ बर्षिया सरिता भन्छिन् ।
राम्रो सरकारी जागिर र राम्रो घरमा बिबाह गरिदिने बुवाआमाको सपना विपरित सरिताले आश्रम चलाउन थालेपछि केही वर्षसम्म त घर परिवारसँग आवत–जावत नै बन्द भयो । परिवारको एक मात्र छोरा गुमाउनु पर्दाको पीडा भुल्न नसकेका बुवाआमालाई छोरी (सरिता) को यो कामले थप पीडा दिइरहेको थियो । जीवनभर बिबाह नगर्ने र आश्रम चलाएरै बस्ने छोरी (सरिता)को अडानका अगाडी अन्ततः बुवाआमाको पनि केही सिप चलेन । मानव सेवामा छोरीको सक्रियता देखेर बिस्तारै बुवाआमा पनि सहमत भए ।
‘अहिले त बुवाआमाले हामी बुढो भएपछि छोरीकै संरक्षणमा बस्छौं भनेर भन्नुहुन्छ, बेला–बेलामा यहाँ आश्रमका लागि घरबाटै चामल र तरकारी बोकेर ल्याईदिनुहुन्छ, मैले अंगालेको बाटो सही रहेछ भन्ने कुराको महसुस भएको छ,’ उनी भन्छिन् । सामान्य रुपले सुरु गरेको आश्रमले अहिले ठुलो आकार लिइसकेको छ ।
सरिताको दैनिकी बिहानदेखी बेलुकासम्म आश्रममै बित्छ । यस बाहेक कहिले काँही सडकमा आश्रित मानवहरुको उद्धार गर्न पुग्छिन् । दिनभरीको तनाव र थकानलाई बेलुका आश्रमका बालबालिका र बृद्ध बृद्धासँग खेलेर भुल्छिन् । यहाँ आश्रित बालबालिकादेखी जेष्ठ नागरिकसम्मले सरितालाई ‘आमा’ भनेर सम्बोधन गर्छन् । ‘सानो बच्चादेखी ९० वर्षको बृद्ध आमाबुवाले पनि मलाई आश्रममा ‘आमा’ भनेर बोलाउनु हुन्छ, आश्रम चलाउँदा जति समस्या आएपनि मलाई उहाँहरुबाट हौसला मिलेको छ,’ सरिता भन्छिन् ।
आश्रम सञ्चालन गर्ने क्रममा आफ्नो ब्यक्तिगत जग्गा समेत धितो राखेर २५ लाख रुपैयाँ ऋण लिएको उनले सुनाइन् । उनी भन्छिन्, ‘वास्तवमा मान्छेले आफ्नो जीवनमा गर्नुपर्ने सबैभन्दा पवित्र काम नै दिन दुःखीको सेवा गर्ने रहेछ ।’ आश्रममा बसेर सेवा गर्दा सरिताले धेरै अवसर पनि गुमाईन् । गीत गाउने कला र गला भएपनि उनले त्यसलाई चटक्कै छाडिन् । अमेरिकाको डिभी परेपनि आश्रमलाई चटक्कै छाडेर जान सकिनन् । मानविय काममार्फत समाजसेवामा लागेकी सरिताले छोटो समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी छन् ।
उनले नेपाल सरकारबाट युवा प्रतिभा पुरस्कार, प्रदेश सरकारबाट समाजसेवा पदक, भारतको शुकरात अन्तराष्ट्रिय विश्वविद्यालयबाट मार्नाथ विद्यावारिधी उपाधी लगायत ४० भन्दा बढी संघ, संस्थाबाट सम्मान पाएकी छन् । आश्रमलाई दिगो रुपले सञ्चालन गर्नका लागि राज्यले आवश्यक सहयोग गर्नुपर्ने र आश्रममा आश्रित बृद्धबृद्धा, महिला तथा बालबालिकालाई सुविधायुक्त भवनमा राखेर संरक्षण गर्ने सरिताको ठुलो सपना छ ।
‘राज्यले बुवाआमाहरुको ब्यवस्थापनमा निरन्तर सहयोग गरिदिने हो भने हामीलाई पनि गाह्रो हुने थिएन । हामीले अहिलेसम्म ऋण खोजेर गरिरहेका छौं,’ उनी भन्छिन् । अहिलेका नयाँ पुस्तालाई समाजसेवा र हाम्रो कर्तब्य र दायित्व के हो ? भन्ने नसिकाउनु नै ठुलो विडम्वना भएको सरिता बताउँछिन् । ‘मान्छे जन्मेपछि अरुलाई गर्ने कर्तब्यबारे स्कुलमा सिकाइदैन, मात्र पैसा कमाउन सिकाइयो,’ उनी भन्छिन् ‘मान्छे जन्मेपछि एकदिन मर्नुपर्छ, बाँचुञ्जेल मैले कसैका लागि केही गर्नुपर्छ भन्ने सोच सबैमा जाग्न आवश्यक छ ।’ नेपालगन्ज क्षेत्रमा यिनै सरिता अहिले सफल समाजसेवीका रुपमा स्थापित भइसकेकी छन् । ‘महिलाले केही पनि गर्न सक्दैनन्’ भन्ने नेपाली समाजको गलत मानसिकतालाई तोड्न उनी एक उदाहरण बनेकी छन् ।