बाँके (बैजनाथ) : बाँकेका स्थानीय तहमा कांग्रेसले सञ्चालन गरेको प्रशिक्षण समापन भएको छ । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि प्रशिक्षण सुरु गरिएको थियो । कोहलपुरबाट सुरु गरिएको एक दिने प्रशिक्षण कार्यक्रम मंगलबार बैजनाथ गाउँपालिकामा सञ्चालन गरेर समापन गरिएको हो ।
कोहलपुर, राप्ती सोनारी, नेपालगन्ज उपमहानगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा प्रशिक्षण सञ्चालन गरेर समापन गरिएको छ । जिल्लाको जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा एक महिनापछि प्रशिक्षण सुरु गरिने कांग्रेस बाँकेले जनाएको छ ।
मुस्लिम समुदायको पवित्र महिना 'रमजान' का कारण अहिलेलाई प्रशिक्षण स्थगित गरिएको कांग्रेस बाँकेका कार्यबाहक सभापति एवं प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीले जानकारी दिए । प्रशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले कांग्रेसी कार्यकर्ता बैचारिक रुपमा सशक्त भए मात्रै संगठन सुदृढ र चलायमान हुने बताए । प्रमुख प्रशिक्षक समेत रहेका पाण्डेले बैचारिक ज्ञान र स्पष्टताले नै अन्य पार्टीसँग प्रतिष्पर्धा गर्न सकिने स्पष्ट पारे ।
कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले नेपाली कांग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधी शर्माले नेपाली कांग्रेस, प्रजातन्त्र र समाजवाद, पत्रकार शुक्रऋषि चौलागाईले काँगे्रस र मिडियाबीचको सम्वन्ध, तिर्थ पौडेलेले जनसरोकारका सवाल, पार्टी संगठन, योजना, कार्यसम्पादन लगायत विषयमा प्रशिक्षण दिएका थिए ।
कांग्रेस बैजनाथ गाउँपालिका सभापति देबबहादुर केसीले स्वागत गरेको उक्त कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति एवं प्रशिक्षण शाखा प्रमुख अधिकारीले गरेका थिए । यस्तै कार्यक्रम सञ्चालन प्रशिक्षण शाखा सचिव उमा थापामगरले गरेकी थिइन् ।