नेपालगन्ज : नेपालगन्जको वाटरपार्कमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम पर्यटन महोत्सवमा दर्शकको उत्साहपूर्ण सहभागिता बढेको छ । चौथो दिन शुक्रबार भएका कारण महोत्सवममा दर्शकको अन्यदिन भन्दा उत्साहपूर्ण सहभागिता भएको हो ।
यसअघि बिहीबार ज्योती मगरको बेजोड प्रस्तुतीले महोत्सव स्थल तातिएको थियो । दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुतीमा रम्न दर्शकको संख्या बढ्दै गएको हो । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेकी अध्यक्ष मधुकुमारी खड्काले भोलीदेखि लगातार विदा पर्न गएकोले दर्शकको उपस्थिती झनै बढेर जाने बताइन् ।
‘मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा शुक्रबार टंक तिमिल्सिना, एमटी महर, सृजना खत्री र करिश्मा ढकालको प्रस्तुतीमा दर्शकहरु झुमे । धम्बोझी, वाटरपार्क, विशालनगर, तेजनगर, कारकाँदो, पुष्पलाल चोक लगायतको क्षेत्रबाट स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।
महोत्सव हेर्न आएका दर्शकले घरअगाडी साँझसम्म सञ्चालनमा रहेको महोत्सवमा सपरिवार आउँदा छुट्टै अनुभूति भएको प्रतिक्रिया दिए । राती ८ बजेसम्म चल्ने महोत्सवको सांगातिक कार्यक्रम कुनै कन्र्सट भन्दा कम छैन । डिजे लाईट र दमदमार साउण्ड सिस्टमका साथ कलाकारले आफ्नो प्रस्तुती राख्दा कन्र्सट आयोजना गरिएको जस्तो महसुस भएको महोत्सव स्थल पुगेका दर्शकको प्रतिक्रिया छ ।
महासंघ बाँकेका अध्यक्ष खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
शनिबार लोक तथा दोहोरी गायिका टिका पुन, ¥यापर टोङ र डान्सर आरुषी मगरसहित स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने प्रचार प्रसार संयोजक इन्द्रबहादुर खत्रीले जानकारी दिए । साथै महोत्सवमा बिहान १० बजेदेखि नै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । शुक्रबारको महोत्सव पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले सञ्चालन गरेको थियो । शनिबार हुने महोत्सवको सञ्चालन तिलक गाउँले तथा रुपाले गर्नेछन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगर समितिको सह-आयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ ।