बाँके (ओभरी) : बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि आवश्यक समन्वय हुनुपर्ने सम्बद्ध सरोकारवालाले जोड दिएका छन् । पर्यटन प्रवर्द्धनका लागि निकुञ्ज, होटल ब्यवसायी, पर्यटन ब्यवसायी, सञ्चारकर्मी, संरक्षण क्षेत्रमा लागेका ब्यक्ती लगायतबीच समन्वय हुनुपर्नेमा जोड दिइएको हो ।
निकुञ्ज कार्यालयले मुख्यालय ओभरीमा शुक्रबार गरेको कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका ब्यक्तिले सबैभन्दा नजिक र पायक पर्ने स्थानमा रहेको बाँके निकुञ्जमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शालिकराम डाँगीले निकुञ्जमा अब पर्यटकलाई बढी भन्दा बढी भित्र्याउन आवश्यक रहेको बताए । पर्यटन प्रवर्द्धनका लागि सरोकार राख्ने निकायबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्जका लागि नेपाल सरकारको पर्यटन बोर्डले उल्लेखनीय लगानी नगरेको बताए । प्रदेश सरकारसँग पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम भएपनि खासै सहकार्य हुन नसकेको उनले सुनाए । ‘निकुञ्जले ठोस पहल कदमी लिन सक्यो भने हामीले आंशिक रुपले सफलता प्राप्त गर्न सक्छौं, हामीले महत्वकांक्षी योजना बुनेका छौं, हामी हाम्रो तर्फबाट खरो रुपमा उत्रने प्रयास गर्छौ,’ शाहले भने ‘हामीसँग उल्लेखनीय बार्षिक बजेट छैन, महत्वकांक्षी योजना बुनेका छौं, त्यो अनुसारको कार्यक्रम गर्न सकिदैन ।’
नागरिक दैनिकका पत्रकार अर्जुन ओलीले स्थापना कालदेखी हालसम्म बाँकेका सञ्चार माध्यमले निकुञ्जका विषयमा कलम चलाउँदै आएको बताए । पर्यटन प्रवर्द्धनका लागि निकुञ्ज कार्यालयले पर्यटकलाई आर्कषित गर्ने खालका पुर्वाधार बनाउनुपर्नेमा जोड दिए ।
नेचर गाईड एशोसियशन बाँकेका अध्यक्ष भिम डाँगीले निकुञ्जमा अझैपनि पुर्वाधार कमी रहेको बताए । ‘निकुञ्जभित्र पर्याप्त मात्रामा वनपथ, घाँसे मैदान, पोखरी छैनन्, चुरेको फेदीमा प्रशस्त पानी छ, त्यहाँसम्म बाटो पुर्याउन सकियो भने त्यहाँसम्म लगेर पर्यटकलाई घुमाउन सकिन्छ,’ उनले भने ।
होटल सिद्धार्थ नेपालगन्जका केशव न्यौपानेले बाँके निकुञ्जको पर्यटन प्रवर्द्धन गर्नका लागि आफुहरुले पनि प्रयास गरिरहेको बताए । होटलमा बास बस्न आउने पाहुनालाई निकुञ्जका बारेमा जानकारी गराएर घुमाउने वातावरण बनाएको बताए ।
रिम्ना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह ढकेरीका अध्यक्ष गोकुल ओलीले निकुञ्जसँगै सामुदायिक वनमा पनि पर्यटकलाई घुमाउने ठाउँ रहेको बताए । ‘मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पनि निकुञ्जले पर्यटकीय गतिविधी बढाउने खालका कार्यक्रम गर्नुपर्छ,’ उनले भने ।
सो क्रममा संरक्षणकर्मी आशिष चौधरी लगायत विभिन्न मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, होमस्टे ब्यवसायी, होटल ब्यवसायी लगायतले पनि आफ्नो धारणा राखेका थिए । निकुञ्जका संरक्षण अधिकृत कुन्नारायण चौधरीले स्वागत गरेको उक्त कार्यक्रममा निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका गणपति उज्वल थापा, विभिन्न मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारी, मध्यवर्ती सामुदायिक वन समुहका पदाधिकारी, निकुञ्जका कर्मचारी, संरक्षणकर्मी लगायतको उपस्थिती रहेको थियो ।