नेपालगन्ज : नेपालगन्ज निवासी ‘सुशिला श्री’ ब्यवसायिक कामको शिलशिलामा यसै साता काठमाडौं पुगेकी थिइन् । काठमाडौं जादाँ र नेपालगन्ज फर्किदाँ उनले ‘श्री एयर’ जहाजको टिकट काटेकी थिइन् । गत शुक्रबार काठमाडौंबाट फर्किदाँ उनी ५ः३५ बजेको जहाज चढ्दै थिइन् ।
बोर्डिङ पास भएर जहाज चढ्नै लाग्दा उनको ध्यान सोही जहाजको पंखामा बाँधिएको डोरीतिर गयो । डोरीको एउटा टुप्पो जहाजको पंखा र अर्को टुप्पो यात्रु चढ्ने सिढीको डन्डीमा बाँधिएको थियो । एकछिन भने उनलाई जहाज चढौं कि नचढौं जस्तै भयो । सँगै यात्रा गरेका एक जना पुरुषलाई सुशिलाले डोरी बाँधेको देखाइन् । तर, ति पुरुषले पनि सामान्य रुपमा अथ्र्याउँदै भने, ‘यात्रु चढ्ने बेलामा पंखा घुम्न सक्छ, चोट लाग्ला भनेर बाँधेको होला ।’
आफुहरु जहाज चढ्ने बेलामा जहाजको इन्जिन बन्द भएको उनी सुनाउँछिन् । सबै यात्रु चढेपछि जहाज नेपालगन्जका लागि उड्यो । नेपालगन्ज ओर्लिदा पनि सुशिलाले जहाजको पहिले जसरी नै पंखा र सिढींको डन्डीमा डोरी बाँधेको देखिन । ‘अति नै संवेदनशिल साधन भएकाले जहाजको पंखामा डोरी बाँधेको देखेपछि मलाई अचम्म लाग्यो,’ उनले सम्झिदै भनिन् ‘मैले हातमा भएको मोबाईलले फोटो खिचे ।’
उनलाई यो दृश्यले एकातिर अचम्म लाग्यो, अर्कोतिर भने यात्रु बोकेर आकाशमा उड्ने यति संवेदनशिल साधनमा यति लापरबाही किन गरियो भनेर मन मनै अनेक प्रश्न उब्जिए, ‘जहाजको अवस्था कस्तो छ ? जहाज कसरी उडिरहेको छ ? जहाजको नियमन गर्ने निकाय कहाँ सुतिरहेको छ ?’ उनले आफ्नो मनलाई थाम्न नसकेर सामाजिक सञ्जालमा यो कुरा सार्वजनिक गरिन् । सामाजिक सञ्जालमा कतिले यसलाई सामान्य रुपमा अथ्र्याए, कतिपयले भने यो गम्भिर विषय भएको औल्याएका छन् । सुशिला जहाज चढेको यो नै पहिलो भने होईन ।
करिव एक दशकदेखी उनी नेपालगन्ज-काठमाडौं रुटमा होस् या पहाडी तथा हिमाली जिल्लाका लागि होस्, कयौं पटक जहाज चढेको स्मरण गर्छिन् । ‘म जहाज चढ्न थालेको करिव ९/१० वर्ष जति भईसक्यो, अहिलेसम्म श्री एयरको जहाजमा जस्तो डोरी बाँधेको देखेकी थिइन्,’ उनले भनिन् ‘जहाजको पंखामा डोरी बाँध्नुपर्ने अवस्था किन आयो ? डोरी बाँध्नु सामान्य कुरा हो भने अरु जहाजमा किन यसरी डोरी बाँधेको देखिदैन ?’
नेपालगन्जको न्यूरोडमा ब्यापार गरिरहेकी सुशिला कामको शिलशिलामा मासिक रुपमा कम्तिमा पनि एक पटक काठमाडौं जान्छिन् । ‘ब्यापारिक कामको लागि म महिनामा एक पटक काठमाडौं जान्छु, काठमाडौं जादाँखेरी म प्रायः श्री एयरकै टिकट काट्ने गरेकी छु,’ उनले भनिन् ‘श्री एयरको टिकट नपाएपछि मात्रै अरु जहाजमा यात्रा गर्छु ।’ पछिल्लो समयमा नेपाली आकाशमा उड्ने जहाजको लापरबाहीका कारण थुप्रै हवाई दुर्घटना भएका छन् ।
कतिपय ठुला दुर्घटना टरेका पनि छन् । हवाई कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा, कम्पनीको विभिन्न लापरबाही, समयमा जहाज मर्मत र सर्भिसिङ नहुनु, जहाजमा आउने कुनै समस्यालाई सामान्य अर्थमा लिनु, पाईलटलाई कामको लोड र तनाव दिनु जस्ता कुराले हवाई दुर्घटना हुने गरेको यसक्षेत्रका विज्ञ बताउँछन् ।
पछिल्लो केही समय यता श्री एयरको जहाजमा पटक पटक विभिन्न समस्या उत्पन्न भएको समाचार आएका छन् । पटक पटक उत्पन्न हुने समस्याले गर्दा यात्रुहरु सजग हुन थालेका छन् । ‘यो देखेर मलाई प्लेन चढ्न पनि मन लागेको छैन, छिटो, छरितो र आरामदायी यात्राका लागि हामी जहाज चढ्छौं, तर जहाजले यात्रुको सुरक्षामाथी खेलगाड गरिरहेका छन् ।’
श्री एयरका नेपालगन्ज स्टेशन प्रमुख उपेन्द्र श्रेष्ठको तर्क भने फरक छ । उनले यात्रुको सुरक्षाका लागि डोरी बाँध्ने गरेको सुताए । ‘कतिपय पहिलो चोटी प्लेन चढेका हुन्छन्, फोटो र भिडियो खिचाउन भन्दै उनीहरु पंखातिर गएको पत्तै पाउँदैनन्,’ प्रमुख श्रेष्ठले भने ‘यात्रुहरु पंखातिर नजाउन भनेर नै जहाजको ढोका खोल्ने बित्तिकै डोरी बाँध्ने गरिएको हो ।’