नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा निर्माण भएको अत्याधुनिक बसपार्कलाई प्रभावकारी रुपले ब्यवस्थापन गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । बसपार्क क्षेत्रका नागरिक अगुवा तथा ब्यवसायीका तर्फबाट सोमबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई ज्ञापन पत्र बुझाइएको हो ।
बसपार्कको उचित ब्यवस्थापन, कानुनी प्रक्रिया पुरा गरेका ब्यवसायीको संरक्षण लगायत विषयमा तत्काल एक्सन लिन नगर प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रमार्फत आग्रह गरिएको छ । ‘हाम्रो माग बेवास्ता गरेको पाइएमा त्यसको विरुद्ध कडा आन्दोलन गरिने र सो को सम्पूर्ण जिम्मेवारी नगर प्रमुख र प्रमुख जिल्ला अधिकारीले लिनुपर्ने जानकारी गराउँदछौं,’ ज्ञापन पत्रमा भनिएको छ ।
प्रभावकारी व्यवस्थापन हुन नसक्दा बसपार्क अस्त ब्यस्त भएको यहाँका नागरिक अगुवा तथा ब्यवसायी बताउँछन् । यातायात ब्यवसायीको लापरबाही, प्रहरी प्रशासनको घुसखोरीपन, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय बाँकेको प्रभावकारी अनुगमन तथा नियमन फितलो भएका कारण कुनै अमुख ब्यक्ति÷समुहले वाटरपार्कको जग्गाको बाटोमा समानान्तर बसपार्क निर्माण गरी लाभ लिईरहेको उनीहरुको आरोप छ । ‘यसबारे टाफिक प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र नेपालगन्ज उपमहानगरपालिका बेखबर रहेको हामीलाई आभास भएको छ,’ ज्ञापन पत्रमा भनिएको छ ।
नेपालगन्जबाट सञ्चालित लामो तथा छोटो दुरीका सम्पूर्ण समितिद्धारा सञ्चालित सार्वजनिक यातायातका सम्पूर्ण साधनहरु बसपार्कबाट नै छुट्ने र त्यही आउने कार्यलाई प्रभावकारी बनाउनुपर्ने, जहाँ पायो त्यहीँ यात्रु चढाउने र ओराल्ने काम पूर्ण तया बन्द गर्नुपर्ने उनीहरुको माग छ ।
आर्थिक दुरासय राखी अबैधानिक रुपमा वाटरपार्कको गेटमा सञ्चालित समानान्तर बसपार्क ३ दिनभित्र तुरुन्त हटाउने उक्त कार्यमा संलग्न ब्यक्ति समुहलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने, भारतका विभिन्न शहर जाने र आउने गाडीका प्यासेन्जरहरुलाई बसपार्कमा आउन नदिई होटल ब्यवसायीहरुले दादागिरी शैलीमा गाडीलाई आफ्नो होटल अगाडी रोक्न लगाउने र यात्रु ओराल्ने काम भईराखेको हुनाले सो कार्यको अनुगमन गरी बसपार्क नपुगी कुनै पनि यात्रु नओराल्ने र त्यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कारबाही गर्नुपर्ने, भारत सरकारबाट सञ्चालित गाडीलाई यही बसपार्कबाट छुट्ने ब्यवस्था मिलाउनुपर्ने माग छ ।
यस्तै बिभिन्न टुर्स एण्ड टाभल्सका नाममा होटल होटलमा बोर्ड राखी यात्रुहरुलाई ठग्ने, अलपत्र पार्ने र यातायात ब्यवसायीलाई अब्यवस्थित, अमर्यादित साथै ट्राफिक ब्यवस्थापनमा चुनौती हुने खालका गतिविधि गरेको पाइएकोले सो विषयमा संयुक्त रुपमा अनुगमन गरी प्रचलित कानुन अनुरुप गराउनुपर्ने, नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम दर्ता नगरी सञ्चालन गरेका ब्यवसायीहरुलाई नेपालगन्ज उद्योग वाणिज्य संघ समेत सँगको सहकार्यमा वडा र टोलमा दर्ता तथा नविकरण शिविर गरेर दर्ता र नविकरण अनिवार्य गराउनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सडक पेटिका र पुरै शरिरमा झुण्ड्याएर(चस्मा, घडी, एयरफोन, पर्स, बेल्ट, तन्ना, मिठाई, माछा, मासु, पुरी, समोसा, पकौडा लगायतका सामानहरु)होटल होटलमा गई गरिने ब्यापार पूर्ण तथा बन्द र त्यस्ता कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याई कारबाही गरिनुपर्ने, बसपार्क र बाईपास क्षेत्रमा सञ्चालित केही होटल तथा रेष्टुरेन्टहरुमा लागु पदार्थ बिक्री वितरण, प्रयोग गरी गराई युवतीहरुको यौन शोषण गर्ने गरेको सुन्नमा आएकोले शिघ्र अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गरेका छन् ।
हालका दिनमा बाईपास रोड, न्यूरोड, वाटरपार्क र कारकाँदो चोक वरिपरी चोरीका घटना बढिरहेकोले नियमित प्रहरी गस्ती गर्ने ब्यवस्था मिलाउनुपर्ने, ब्यापार मेला र महोत्सव आयोजना गर्ने भन्दै स्थानीय संस्थाको नाम भजाएर भारतीयहरुलाई ठेक्का दिने र स्वदेशको ठुलो धनराशी भारत पठाउने खेल तुरुन्त रोक्नुपर्ने, यस्ता खालका मेला आयोजना गर्न स्वीकृती दिन नहुने र नगरका सबै सडकमा सडक बत्ती र सिसीटिभी जडान गरी नियमित मर्मत सम्भार गर्ने ब्यवस्था मिलाउनुका साथै बसपार्क सरसफाईको प्रबन्ध मिलाउनुपर्ने माग गरिएको छ ।
उक्त ज्ञापन पत्रमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, जिल्ला ट्राफिक प्रहरी प्रमुख र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्षलाई पनि बोधार्थ दिइएको छ । उक्त ज्ञापन पत्रलाई वडा नम्बर ४ का वडाअध्यक्ष गोपाल पुन, नेकपा माओवादी केन्द्रका नेता नविन शर्मा, स्थानीय अगुवा शेरबहादुर रेउले, ताराबहादुर खत्री लगायतले हस्तान्तरण गरेका थिए ।