कोहलपुर : नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले कोहलपुरमा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण गरेको छ । क्षेत्रीय सभापति पोषण केसीको सभापतित्व र केन्द्रीय सदस्य डा. गोपाल दहितको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य दहितले देशमा भए गरेका विकास निर्माणका काममा नेपाली कांग्रेसले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए । उनलेे भने, ‘कांग्रेसको इतिहास हेर्नूस्, देश परिवर्तनका लागि कांग्रेसले कति महत्वपुर्ण भूमिका निर्वाह गरेको छ, कांग्रेसबिना देश समृद्ध र समुन्नत हुँदैन ।’
कांग्रेसका नेता तथा कार्यकर्तालाई पनि जनताका समस्या र समाज विकासका लागि इमान्दार र कर्तव्यनिष्ट भएर काम गर्न उनको अपिल छ । क्षेत्रीय सभापति केसीले क्षेत्र नम्बर १ मा अझ उर्जाका साथ जनताको घरदैलोमा पुग्न सबैलाई आग्रह गरे ।
केसीले भने, ‘हामीले काम गर्ने भनेकै जनताका लागि हो, सहर बजारमा बसेर जनताका समस्या बुझ्न सकिँदैन, त्यसैले हामी प्रत्यक्षरुपमा जनताको घरदैलोमा पुग्न जरुरी छ ।’
सो क्रममा कांग्रेस बाँकेका कार्यबाहक जिल्ला सभापति गोपालप्रसाद अधिकारी, लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल, महासमिति सदस्यहरू पुर्णप्रसाद आचार्य, द्रौपदी वली, लुटबहादुर केसी तथा महाधिबेशन प्रतिनिधि कृष्णबहादुर बि.क, पुर्वक्षेत्रीय सभापति माधवराम खत्री, कांग्रेस नेता हुर्मत न्यौपाने र पार्टीका राप्ती सोनारी गाउँपालिका सभापति भिमबहादुर रानाक्षेत्री लगायतले बोलेका थिए ।