कोहलपुर : आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता पुष्टी भएपछि कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारवाही सिफारिस गरेको छ ।
शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, अधिकृत रबिलाल मिजार, प्राविधिक सहायक बलबहादुर नेपाली र कार्यालय सहयोगी भरत थारुलाई दोषी ठहर गरी कारवाहीकन लागि सिफारिस गरिएको हो । यि मध्ये मिजारलाई भने निलम्वन गर्ने सिफरिस गरिएको नगरपालिकाले जनाएको छ ।
गत चैत २ देखि ९ गतेसम्म चलेको कक्षा ८ को परीक्षाको नतिजा २३ गते सार्वजनिक भएको थियो । उक्त परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै उजुरी परेपछि नगरपालिकाले कार्यपालिका सदस्य बीरेन्द्र बहादुर शाहको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको थियो ।
उक्त प्रतिवेदनका आधारमा नतिजा प्रकाशनमा शिक्षा शाखा अधिकृत मिजार मुख्य दोषी ठहर गर्दै उनलाई निलम्वनसहित विभागीय कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । प्रतिवेदन सार्वजनिक गर्दै उनले शिक्षा शाखा प्रमुख रामबहादुर हमालको काज फिर्ता गर्ने र विभागीय कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको उनले बताए ।
मातहतका कर्मचारीको लिखित रुपमा जिम्मेवारी बाँडफाँड नगरेको, परीक्षा सम्बन्धी गतिविधिलाई प्रभावकारी गराउन निरीक्षण, अनुगमन तथा निर्देशन नगरेका कारण अनियमितता मौलाएको पाइएकाले शाखा प्रमुखको हैसियतमा हमाल दोषी देखिएको मेयर आचार्यले प्रष्ट्याए ।
नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८ सय ६४ जना बिद्यार्थीले फारम भरेकोमा ५३ जना अनुपस्थित भएको र २ हजार ८ सय ११ जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए । संस्थागत तर्फ ६९.८७ प्रतिशत उतिर्ण भएका थिए भने सामुदायिक तर्फ १४.८० प्रतिशत उर्तिण भएका थिए ।