नेपालगन्ज : नेपालगन्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा उक्त अस्पतालले उत्कृष्ट ८० प्रतिशत अंक प्राप्त गरेको हो ।स्वास्थ्य सेवा विभागका डा. उत्तम पाच्याले मुलुकका विभिन्न संघिय अस्पताल मध्ये भेरी अस्पताल ८० अंक सहित उत्कृष्ट बनेको जानकारी दिए ।
उनका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६९, डडेलधुरा अस्पतालले ६५ र गजेन्द्रनारायण अस्पतालले ३२ अंक ल्याएको छ । भेरी अस्पतालले विगत ३ वर्षदेखी भेरी उत्कृष्ट अंक प्राप्त गरेको डा. पाच्याले बताए । भेरी अस्पतालले यसअघि सन् २०१९ मा ६१ प्रतिशत, सन् २०२२ मा ६७ र सन् २०२३ मा ७५ प्रतिशत अंक ल्याएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
डा. पाच्याले भने, ‘विभिन्न ३ वटा क्याटोगरीमा १ हजार ५ सय मापदण्ड छ, हामीले त्यसमा मुल्यांकन गर्दाखेरी भेरी अस्पतालको सबैभन्दा उत्कृष्ट ८० प्रतिशत अंक आयो ।’ मुल्यांकनका क्रममा अस्पतालको भौतिक पुर्वाधार, सुशासन ब्यवस्थापन, स्वास्थ्य सेवा क्षेत्रलाई हेरिएको उनले सुनाए । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझीले सम्पूर्ण सरोकारवाला, अस्पताल विकास समिति, चिकित्सक, नर्स, कर्मचारी, सेवा प्रदायक लगायत सबैको मेहेनत र लगनशिलताले गर्दा ८० प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट हुन सफल भएको बताए ।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनैपनि अस्पताललाई स्तरोन्नती गर्ने अथवा विकास गर्ने सन्दर्भमा कुनैपनि बजेट विनियोजन गर्नका लागि एउटा मुलभुत आधार भनेको न्यूनतम सेवा मापदण्ड हो,’ उनले भने ‘जुन अस्पतालले न्युनतम सेवा मापदण्डमा उच्च अंक हासिल गर्छ, त्यसलाई प्राथमिकता दिएर भविष्यमा अझ राम्रो अस्पताल र हाम्रो अस्पताल बनाउने हिसाबले यसलाई चाही सहयोग पुर्याउनुपर्छ भन्ने हामीलाई लागेको छ ।’
न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्र्तगत अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा डा. रायमाझीले अस्पतालले दिइरहेको सेवाबारे जानकारी गराएका थिए । अस्पतालले हाल एमआरआईसहित न्यूरो सेवा, मुटुरोग(क्याथल्याब), नेफ्रो (मृगौला), यूरो, ग्याष्ट्रो लगायत विशिष्टकृत सेवा सञ्चालन गर्दै आएको छ । हाल १ सय ६२ शैयाबाट सेवा दिइरहेको अस्पतालले नयाँ भवनमा आवश्यक पुर्वाधार तयार भएपछि तत्कालै ३ सय शैयामा पुर्याउने योजना बनाएको छ ।
कार्यक्रममा अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले भेरी अस्पतालसँग दक्ष जनशक्ति उपलब्ध रहेको बताए । अस्पतालले पश्चिम नेपालमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरिरहेको उनले सुनाए । यस्तै अस्पतालकी प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले अस्पताल टिममा काम गर्ने संस्था भएको बताइन् ।
मुलुकभर रहेका धेरै अस्पताल सुधार उन्मुख अवस्थामा रहेको उनको भनाई छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले अस्पतालको भौतिक पुर्वाधारसँगै दक्ष जनशक्ति उत्तिकै आवश्यक रहेको बताए । अस्पतालको गुणस्तर कायम गर्नका लागि चिकित्सकलाई स्वास्थ्य मापदण्ड अनुसार बिरामी जाँच्न दिनुपर्ने सुनाए ।