कोहलपुर : कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेका संस्थागत बिद्यालय (बोर्डिङ स्कुल) को शुल्क निर्धारण गरिएको छ । कोहलपुर नगर शिक्षा समितिको गत चैत २३ गते बसेको बैठकको सिफारिस तथा कोहलपुर नगर कार्यपालिकाको यही बैशाख १० गतेको निर्णय अनुसार शुल्क निर्धारण गरिएको शिक्षा अधिकृत शिला गौतमले जानकारी दिइन् ।
उनका अनुसार संस्थागत विद्यालयहरुले शिक्षा नियमावली २०५९, परिच्छेद-२५ को उपनियम १४६ बमोजिमको अधिकतम मासिक पढाई शुल्क मात्र लिन सक्ने आवश्यक ब्यवस्थाका लागि अनुरोध गरिएको छ । साथै विद्यालयले अभिभावक भेलाबाट शुल्क अनुमोदन गराइ शुल्कको दर विद्यालयको सूचना पाटीमा अनिवार्य रुपमा टाँस्न र सो को एक प्रति शिक्षा तथा खेलकुद शाखामा स्वीकृतिका लागि पेश गर्न भनिएको छ ।
नगरपालिकाले निर्धारण गरेको शुल्कमा कक्षा नर्सरीका लागि न्यूनतम १५ सयदेखी अधिकतम ३ हजार, कक्षा एलकेजीका लागि न्यूनतम १६ सय ५० देखी अधिकतम ३२ सय, युकेजीका लागि न्यूनतम १८ सय देखी अधिकतम ३४ सयसम्म, कक्षा १ का लागि न्यूनतम १९ सय ५० देखी अधिकतम ३६ सय, कक्षा २ का लागि न्यूनतम २१ सयदेखी अधिकतम ३८ सय, कक्षा ३ का लागि न्यूनतम २२ सय ५० देखी अधिकतम ४ हजार, कक्षा ४ का लागि न्यूनतम २४ सयदेखी अधिकतम ४२ सय, कक्षा ५ का लागि न्यूनतम २५ सय ५० देखी अधितम ४४ सय निर्धारण गरिएको छ ।
यस्तै कक्षा ६ का लागि न्यूनतम २७ सय देखी अधिकतम ४६ सय, कक्षा ७ का लागि न्यूनतम २८ सय ५० देखी अधिकतम ४८ सय, कक्षा ८ का लागि न्यूनतम ३ हजारदेखी अधिकतम ५ हजार, कक्षा ९ का लागि न्यूनतम ३१ सय ५० देखी अधिकतम ५५ सय र कक्षा १० का लागि न्यूनतम ३३ सयदेखी अधितम ६ हजारसम्म शुल्क निर्धारण गरिएको शिक्षा अधिकृत गौतमले जानकारी दिएकी छन् ।