काठमाडौं : इलाममा अहिलेसम्म ४० प्रतिशत र बझाङमा २२ प्रतिशत मतदान भएको छ । बझाङको प्रदेश सभा १ (१) मा दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिएका छन् ।
उनका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का सम्पूर्ण मतदानस्थल र केन्द्रहरूमा शनिबार बिहान ७ बजेदेखि मतदान सुरू भएको थियो । मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सबै मतदानस्थल र केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान चलिरहेको उनले बताए ।
बझाङमा उपनिर्वाचन भएको प्रदेश सभा १ (१) मा ६१ हजार ७ सय ४८ मतदाता रहेका छन् । त्यहाँबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन पश्चात रिक्त रहेको स्थानमा पदपूर्तिका लागि मतदान गराइएको हो । यहाँ विभिन्न दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नेपाली कांग्रेसबाट स्वर्गिय पृथ्वीबहादुरका छोरा अभिषेक बहादुर सिंह, एमालेबाट दमन बहादुर भण्डारी, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट शुशिला देवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीबाट राम बहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार रहेका छन् ।
यस्तै इलाम २ को उपचिर्वाचनमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान खसेको हो । केही केन्द्रमा धेरै र केहीमा थोरै खसेको हुँदा औसतमा ४० प्रतिशत मतदान भएको घिमिरेले जानकारी दिए । इलामको ६ वटा स्थानीय तहको ४२ वटा वडामा १ सय ४९ मतदान केन्द्र राखिएको छ ।