नेपालगन्ज : नेपालगन्जमा पाँच दिने बृहत योग विज्ञान शिविर सञ्चालन गरिदैछ । पतंजली योग समिति बाँकेको आयोजनामा यही बैशाख १८ गतेदेखी २२ गतेसम्म नेपालगन्जको रामलिला मैदानमा उक्त शिविर सञ्चालन गर्न लागिएको हो । नेपालगन्जमा आइतबार पत्रकार सम्मेलन गरेर समितिले यसबारे जानकारी गराएको छ । शिविरमा प्रवेश निःशुल्क गरिएको छ ।
शिविर हरेक दिन बिहान ५ बजेदेखी ७ बजेसम्म सञ्चालन हुने अध्यक्ष हरपाल सिंहले जानकारी दिए । आवश्यक भएका ब्यक्तिहरुलाई बिहान ७ बजेदेखी ८ बजेसम्म पनि आयुर्वेदिक डाक्टरबाट निःशुल्क स्वास्थ्य परिक्षणको सुविधा राखिएको उनले बताए । शिविरलाई पतंजली योगपीठ हरिद्धार र पतंजली योगपीठ नेपालका प्रखर योगगुरु तथा प्रशिक्षकहरुले सञ्चालन तथा सहजीकरण गर्नेछन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँके र नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा आयुर्वेद डाक्टरद्धारा निःशुल्क स्वास्थ्य परिक्षणको सुविधा रहेको अध्यक्ष सिंहले बताए । शिविरमा योग गर्नका लागि विछ्याउने म्याट तथा कार्पेटको ब्यवस्था आयोजकले नै गर्ने जनाएको छ । योगमार्फत मुटु, फोक्सो, मस्तिष्क, पाचन प्रणालीसँग सम्बन्धित लगायत सम्पूर्ण शारिरीक रोगहरु निको पार्न सकिने विश्वास गरिन्छ ।
यस्तै मोटोपन, मधुमेह, कोलस्ट्रोल, कब्जियत, दम, एलर्जी, माईग्रेन, ब्लडप्रेसर, लकवा, अर्थराईटिस जस्ता सम्पूर्ण शारिरीक विकार नष्ट गर्न सकिने योग प्रशिक्षक बताउँछन् । यस्तै शारिरीक प्रतिरोधक क्षमतामा बृद्धि हुने तथा सकारात्मकता र उत्साहले भरिपूर्ण जीवन जिउने कला विकास हुने विश्वास गरिएको छ ।
पत्रकार सम्मेलनमा संविधान सभा सदस्य मैकुलाल बाल्मिकी, पतंजली योग समिति नेपालका केन्द्रिय सदस्य योगाचार्य नरकान्त जोशी, लुम्बिनी प्रदेश सहप्रभारी धर्मराज पोख्रेल, युवा संयोजक दुर्गाप्रसाद चौधरी, नेपालगन्ज आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक शिवराज सुवेदी, नेपालगन्ज हेल्थ क्याम्पसका प्रमुख प्रभाकर मिश्र, पतंजली महिला योग समिति बाँकेका अध्यक्ष कमला कान्ति पौडेल, पतंजली योग समिति बाँकेकाा सल्लाहकार शान्ता पोख्रेल लगायतको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन पतंजली योग समिति बाँकेका महासचिव बिरबहादुर हमालले गरेका थिए ।