नेपालगन्ज : नयाँ शैक्षिक शत्रको सुरुवातमै पुस्तक पसलले अभिभावकलाई मनपरी रुपले पुस्तक बिक्री गर्ने गरेको पाइएको छ । पसलले अभिभावकको ढाँड सेकिने गरी पुस्तकबाट पैसा असुलेका छन् । नियमित रुपमा अनुगमन नहुँदा केही पसलहरुले मनपरी रुपमा पुस्तक खरिदको निहुँमा रकम असुलेको अभिभावकको गुनासो छ ।
नेपालगन्जमा अनुगमनका क्रममा पसलले अनाधिकृत रुपमा मुल्य सूची नराखेर पुस्तक बिक्री गरेको पाइएको हो । जिल्ला अनुगमन टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बसपार्क रोडमा रहेको गौतम बुक्स सप्लायर्समा छापा मारेर ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई पीडित उपभोक्ताले फोन गरेर यसबारे जानकारी गराएपछि अनुगमन गर्न टोली सोमबार त्यहाँ पुगेको थियो । अनुगमनका क्रममा अनुमति प्राप्त नै नगरी पाठ्यपुस्तक बिक्री गर्ने सप्लायर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए ।
निर्धारित सर्त पूरा गरेर सुचिकृत बिक्रेताको रुपमा अनुमति पाएका बिक्रेताले मात्र सरकारी पाठ्य पुस्तक बिक्री, वितरण गर्न पाउने ब्यवस्था रहेको छ । गौतम बुक्स सप्लायर्सले सो सर्त मात्र होइन, बिक्री गरिने पुस्तकको मूल्य सबैले देख्ने स्थानमा अनिवार्य टाँसेर राख्नु पर्ने दोस्रो सर्तको पनि बेवास्ता गरेको पाइएकाले जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए ।
सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रबाट उत्पादन र वितरण भइरहेको सरकारी बिद्यालयका पाठ्य पुस्तकमा क्रेता तथा उपभोक्ताले अनिवार्य रुपमा थाहा पाउनुपर्ने बिक्री मूल्य जस्तो महत्वपूर्ण जानकारी समेत उल्लेख गरिएको छैन । बिक्रेताले भनेको मुल्यलाई नै स्वीकार गर्नुपर्ने बाध्यतामा अभिभावक छन् । यस्तो ब्यवस्थाबाट अभिभावक ठगिने सम्भावना उच्च रहकाले यस्तो संवेदनशिल बिषयलाई आफुले गृह मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रलाई मौखिक रुपमा अवगत गराइसकेको प्रजिअ पोखरेलले बताएका छन् ।
‘निजी क्षेत्रका उत्पादनमा बिक्री मूल्य अनिवार्य उल्लेख भएको हुनुपर्ने तर सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले उत्पादन गरेको पाठ्य पुस्तकमा मुल्य उल्लेख नगरेपनि हुने ब्यवस्था शैक्षिक उपभोक्ताको हितमा नरहेकाले बेलैमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ,’ उनले भने ।