नेपालगन्ज ः सर्वसाधारणलाई तातो हावाबाट जोगाउन नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका घर-घरमा स्वयंसेवक खटाइको छ । उपमहानगरपालिकाको डा नम्बर २१ र २२ मा तातो हावाको उच्च जोखिम रहेको देखिएकाले घर-घरमा पुगेर सचेतना फैलाउन स्वयंसेवक खटाइएको नेपाल रेडक्रस सोसाइटी बाँकेले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-२१ मा स्वयं सेविका पुनम सोनीका साथमा स्थानीय दुई किशोरी सन्ध्या शाही र रोजिना बुढाथोकीलाई स्वयं सेवक खटाइएको छ । उनीहरुले हातमा पर्चापम्पलेट लिएर जोखिममा रहेका घर-परिवारको घरदैलोमा भटी अत्यधिक गर्मी र लु बाट बच्न उपाय सिकाउने गरेका छन् ।
उनीहरुले रेडक्रसबाट प्रदान गरिएको जनचेतनामुलक पर्चापम्पलेट लिई घरधुरी सर्वेक्षण फारम समेत भरिरहेका छन् । घरदैलोका क्रममा उनीहरुले अत्यधिक गर्मी र लुबाट कसरी जोगिने, कस्ता खानेकुरा खाने, स्वास्थ्य स्याहार कसरी गर्ने, जोखिमका बेला कहाँ सम्र्पक गर्ने लगायतका विषयमा जानकारी दिइरहेका छन् ।
रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवद्र्धन सिंह सम्झनाका अनुसार टिनको छाना भएको घर, दीर्घ स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालगायत अत्यधिक गर्मी र लुबाट बच्ने उपाय सिकाउन स्वयंसेवक खटाइएको जानकारी दिए ।
केही दिनअघि मात्र स्वयसेवकलाई प्रशिक्षण दिई घरदैलोका लागि खटाइएको हो । अमेरिकन रेडक्रस, नेपालगन्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको संयुक्त साझेदारीमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावाको लहर प्रतिकार्य कार्यक्रम सञ्चालन भइरहेको छ ।