नेपालगन्ज : कान्ति आरोग्य अस्पताल नेपालगन्जले दुर्बिन प्रविधिमार्फत हर्नियाको सफल शल्यक्रिया गरेको छ । सुर्खेत बीरेन्द्रनगर नगरपालिकास्थित चिसापानी निवासी १७ वर्षिया एक किशोरीमा भएको हर्नियाको अस्पतालले सफल शल्यक्रिया गरेको हो । अस्पतालका विशेषज्ञ चिकित्सक डा. कृष्णमोहन अधिकारीको नेतृत्वमा डा. सन्तोष सिर्पाली लगायतको टिमले सफल शल्यक्रिया गरेको हो ।
अस्पताल सञ्चालक एवम वरिष्ठ बालरोग विशेषज्ञ डा. रोमा बोराका अनुसार दुर्बिन प्रविधिमार्फत हर्नियाको शल्यक्रिया भएको नेपालगन्जको यो पहिलो हो । ‘हर्नियाको दुर्बिन प्रविधिमार्फत अप्रेशन गर्ने सर्जन नेपालगन्जका अरु कुनैपनि अस्पतालमा छैनन्,’ डा. बोराले भनिन् ‘कान्ति आरोग्य अस्पतालमा उपलब्ध भएकाले दुर्बिन प्रविधिमार्फत अप्रेशन गर्न सम्भव भयो ।’ लामो समयदेखी ति किशोरी हर्निया रोगबाट पीडित थिइन् । तरपनि उनले कसैलाई आफ्नो समस्या बताउन सकेकी थिइनन् ।
समस्या झन् बल्झिदै जान थालेपछि उनले परिवारका सदस्यलाई समस्याबारे जानकारी गराइन् । आफन्तको सहयोगमा सुरुमा ति किशोरी उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको सम्पर्कमा पुगेकी थिइन् । शिक्षण अस्पतालका डाक्टरले दुर्बिन प्रविधिको शल्यक्रिया सुविधा नेपालगन्जमा कतै नभएको भन्दै काठमाडौं जान सुझाव दिएका थिए ।
किशोरीकी आफन्तले भनिन्, ‘डा. कृष्णमोहन अधिकारीले फिस्टुलाको सफल अप्रेशन गर्नु भएको कुरा मलाई कसैले भनेको थियो, अनि सोधपुछ गर्दै जादाँ कान्ति आरोग्य अस्पतालको सम्पर्कमा पुग्यौं, अनि प्रष्टसँग थाहा पाईयो, त्यहाँ हर्नियाको दुर्बिन प्रविधिमार्फत अप्रेशन हुँदो रहेछ ।’ कान्ति आरोग्य अस्पतालमा पुग्दा ढुंगा खोज्दा देउता मिलेझै भएको उनले बताइन् ।
दुर्बिन प्रविधिमार्फत अप्रेशन भएकाले बिरामीको स्वास्थ्यलाई त्यति धेरै बाधा नपरेको र अप्रेशनको २४ घण्टा नबित्दै डिस्चार्ज भएको ति आफन्तले सुनाईन् । सञ्चालक डा. बोराले दुर्बिन प्रविधिमार्फत हर्नियाको शल्यक्रिया गर्दा अस्पतालमा लामो बसाई नहुने, घाउ सानो हुने भएकाले दुखाई कम हुने, घाउ छिटो निको हुने बताइन् ।
अस्पतालमा अहिले अधिकतम दुर्बिन प्रविधिकै शल्यक्रिया हुने गरेको सञ्चालक डा. बोराले सुनाइन् । अस्पतालले हर्नियासँगै पित्तथैली, एपेण्डिक्स, पाठेघर लगायतको दुर्बिन प्रविधिमार्फत शल्यक्रिया गरिसकेको जनाएको छ ।