नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ धामपुरस्थित इलाका प्रहरी कार्यालयको प्राङ्गनमा निर्माण गरिएको दुर्गा भवानी मन्दिरको विधिवत् रुपमा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र विशिष्ट अतिथी तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
राप्ती सोनारी गाउँपालिका कार्यालयको सहयोगमा उक्त मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण समितिका अध्यक्ष गणेश डाँगीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले धामपुर प्रहरीलाई शान्ति सुरक्षा प्रदान गर्नका लागि प्रहरीलाई जनशक्ति र साधन स्रोत अनिवार्य आवश्यक रहेको बताए । गाउँपालिकाले मन्दिर निर्माणका लागि आर्थिक सहयोग गरेको स्मरण गराउँदै उनले आगामी दिनमा पनि शान्ति, सुरक्षा प्रदान गर्नमा आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी)अधिकारीले ईलाका प्रहरी कार्यालय धामपुरका लागि जनशक्ति थप गरिदिने प्रतिवद्धता जनाए । शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीलाई नागरिक स्तरबाट पनि उत्तिकै सहयोग आवश्यक रहेको उनको भनाई थियो ।
यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले धामपुर इप्रकालाई प्रहरी जनशक्ति आवश्यक रहेको भन्दै तत्काल ब्यवस्थापन गरिदिन आग्रह गरे । शान्ति सुरक्षा प्रदान गर्नका लागि प्रहरी जनशक्ति अपरिहार्य रहेको उनले बताए ।
कार्यक्रममा राप्ती सोनारी ४ का वडाअध्यक्ष कान्छा थारु, वडा नम्बर ५ का वडाअध्यक्ष झगरु थारु, पत्रकार महासंघ बाँकेका सह-सचिव हेमन्त चौधरी, कांग्रेसका युवा नेता सन्तोष चौधरी लगायतको सहभागिता रहेको थियो ।
शुभकामना बडादसैंँको - भिडियो