बाँके (बालापुर) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का आगलागी पीडितलाई राहत हस्तान्तरण गरिएको छ । गत बैशाख १९ गते भएको आगलागीबाट ३ वटा घर र गोठ जलेका थिए । स्थानीय चुनलाल थारु, कमला गिरी, तुलसा गिरी र गिता कुसारी गिरीको गरी घर तथा गोठमा आगलागी हुँदा एउटा भैसी, ७ वटा भेडा, सुन, चाँदी, धान, गहुँ, मकै, लत्ताकपडा समेत जलेर नष्ट भएको थियो ।
बालापुरका स्थानीय समाजसेवी मोहन गौतमको पहलबाट संकलन गरिएको ३ लाख १० हजार १ सय ९१ रुपैयाँ राहत रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । समाजसेवी गौतमका अनुसार आगलागी पीडित थारुलाई १ लाख ४१ हजार ५ रुपैयाँ, आगलागीमा भैसी, भेडा र बाख्रा गुमाएकी कमलालाई १ लाख ८ हजार र तुल्सा गिरीलाई ५१ हजार १ सय ५ रुपैयाँ र गिता कुसारी गिरीलाई १० हजार ८१ रुपैयाँ हस्तान्तरण गरियो ।
यो पनि पढ्नुस् : बाँकेको बालापुरमा आगलागी, ३ वटा घरगोठ जले
समाजसेवी गौतमले सामाजिक सञ्जालमार्फत आब्हान गरेपछि देश, विदेशबाट सहयोग संकलन भएको थियो । अभियानका क्रममा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ र ९ घर भई अमेरिका लगायत विभिन्न देशमा बसोबास गर्ने युवाले सहयोग रकम पठाएका थिए । सहयोग संकलनका क्रममा स्थानीय उद्योगी, ब्यवसायी तथा समाजसेवी लगायतले पनि साथ दिएका थिए ।