नेपालगन्ज : नेकपा (एमाले) बाँकेको नवौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएको छ । अधिवेशनको एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए । अधिवेशनको बन्द शत्रमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन हुने निश्चित भएको छ ।
निर्वाचनमा अध्यक्ष पदका लागि ४ जनाले दावेदारी प्रस्तुत गरेपनि अन्तिममा २ जना बीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनमा अध्यक्ष पदका लागि डिल्ली बिसी र निरक गुरुङबीच प्रतिस्पर्धा हुन लागेको हो ।
बिसी निर्वतमान जिल्ला उपाध्यक्ष हुन् । निर्वतमान अध्यक्ष किस्मतकुमार कक्षपति र घननाथ खनालले दावेदारी प्रस्तुत गरेपनि अन्तिम समयमा आएर दुबै जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कक्षपतिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको करिव आधा घण्टापछि मञ्चमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।
यस्तै उपाध्यक्ष पदमा रत्नबहादुर खत्री र रविन्द्र लम्सालबीच प्रतिस्पर्धा हुने भएको छ । खत्री लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री हुन् । यस्तै सचिवमा खिलप्रसाद भुसाल, दत्तप्रसाद आचार्य, बलराम भट्टराई र भिम ओली तथा उपसचिव(महिला)मा निर्मला सुनार, रचना श्रेष्ठ र शारदाकुमारी रेग्मी विश्वकर्मा, उपसचिव (खुल्ला) मा किशोर थापा, दिपकुमार वर्मा र सोहनलाल यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसैगरी लेखा संयोजकमा जगदिशचन्द्र शर्मा र शोभाखर अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । लेखा उपाध्यक्षमा डिल्लीराम शर्मा, लेखा सचिवमा विश्वसेन गौतम, लेखा सदस्य (महिला)मा चन्द्रकला लामिछाने, जमुना केसी र नन्दा घिमिरे तथा लेखा सदस्य(खुल्ला)मा मोतीप्रसाद भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् ।