नेपालगन्ज : नेकपा (एमाले) बाँकेको नवौं जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मतदान गराइएको छ । अधिवेशनको बन्द शत्रमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि आइतबार बेलुकाबाट मतदान गराइएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको बालेगाउँस्थित मेरो प्लानेटमा जारी अधिवेशन स्थलमा आइतबार बेलुका ७:३० बजेबाट मतदान प्रक्रिया सुरु भएको छ । यो समाचार तयार पार्दासम्म राती ९:३० बजेसम्म १ सय ४० को हाराहारीमा मत खसेको निर्वाचन अधिकृत भेषराज बस्नेतले जानकारी दिए ।
उनका अनुसार राती साढे १० बजेसम्म मतदान गर्नका लागि मतदातालाई निर्वाचन स्थलमा पुगिसक्न भनिएको छ । निर्वाचनका लागि कुल ४ सय ६६ जना मतदाता रहेको निर्वाचन अधिकृत बस्नेतले बताए ।
अध्यक्षमा बिसी र गुरुङबीच प्रतिस्पर्धा
निर्वाचनमा अध्यक्ष पदका लागि २ जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका लागि डिल्ली बिसी र निरक गुरुङबीच प्रतिस्पर्धा भएको हो । बिसी निर्वतमान जिल्ला उपाध्यक्ष हुन् ।
निर्वतमान अध्यक्ष किस्मतकुमार कक्षपति र घननाथ खनालले दावेदारी प्रस्तुत गरेपनि अन्तिम समयमा आएर दुबै जनाले उम्मेदवारी फिर्ता लिएका थिए । यस्तै उपाध्यक्ष पदमा रत्नबहादुर खत्री र रविन्द्र लम्सालबीच प्रतिस्पर्धा भएको छ ।
खत्री लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री हुन् । यस्तै सचिवमा खिलप्रसाद भुसाल, दत्तप्रसाद आचार्य, बलराम भट्टराई र भिम ओली तथा उपसचिव (महिला) मा निर्मला सुनार, रचना श्रेष्ठ र शारदाकुमारी रेग्मी विश्वकर्मा, उपसचिव (खुलामा) मा किशोर थापा, दिपकुमार बर्मा र सोहनलाल यादवबीच प्रतिस्पर्धा भइरहेको छ ।
यसैगरी लेखा संयोजकमा जगदिशचन्द्र शर्मा र शोभाखर अधिकारीबीच प्रतिस्पर्धा भएको छ । भुगोल र विभिन्न कलस्टरबाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्य तथा लेखा समिति संयोजक लगायत विभिन्न पदका लागि पनि निर्वाचन गराइएको छ ।