बाँके (बैजनाथ) : नेपाली कांग्रेस बैजनाथका उदयमान युवा नेता एवम् वडा नम्बर ४ का वडा सदस्य कर्ण कठायतले चुनावी दौरानमा प्रतिवद्धता जनाएका योजना ब्यक्तिगत लगानीमा पूरा गर्दै आएका छन् । कठायतले जनप्रतिनिधी हुनुभन्दा अगाडी देखि नै आफ्नो वडाका टोल-टोलमा आफ्नै लगानीमा जनतालाई सुविधा पुगोस् भनेर विभिन्न भौतिक संरचना निर्माण गर्दैै आएका थिए ।
नेता कठायतको लगानीमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुरको थारु गाउँमा निर्माण भएको सामुदायिक ट्रष्ट एक समारोहका बीच समुदायलाई हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य मेघराज ओली र ट्रष्ट निर्माणकर्ता कठायतका बृद्धआमा जयकला कठायतले रिवन काटेर उद्घाटन गर्दै समुदायलाई हस्तान्तरण गरेका हुन् ।
साढे ३ लाख रुपैयाँको लागतमा उक्त ट्रष्ट निर्माण गरिएको हो । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै महासमिति सदस्य ओलीले सरकारी बजेटमा समेत नानाथरीका योजनामा र्याल चुहाउने वर्तमान समाजमा निजी लगानीमा समुदायलाई प्रत्यक्ष लाभपुग्ने योजना निर्माण गर्ने कठायत जस्ता समाजसेवी बैजनाथ ४ ले पाउनु अहोभाग्य भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ओलीले जनप्रतिनिधी कठायतलाई दानबीरको उपमा दिदै भने, ‘समाजमा मानिसको जन्म असंख्य हुन्छ, हरेक मानिसको जन्मसँगै मृत्यु तय हुन्छ, जिवित हुन्जेल मात्र होइन, मृत्यु प्रयत्न युग–युग सम्म भावी पुस्ताले स्मरण गर्ने छाप समाजमा थोरै मात्र मानिसले राख्न सक्छन्, कठायत जस्तो मनकारी दानबीर बैजनाथ ४ ले पाएकोमा गर्व गर्नुपर्दछ ।’
कठायतले निजी लगानीमा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयको कम्पाउड तारवार माटो पटान, पानी ट्यांकीस्थित मन्दिरको तारबार, पानी ट्यांकीदेखि बोरिङ बस्ती जाने इट्टा नालामा फुल निर्माण, नौलापुर थारु गाउँमा मन्दिर निर्माण, सिमलघारी स्थित ४ तारे टोलमा बत्तीको पोल, भिन्न ठाउँमा बाटोको स्तर उन्नती, खानेपानीको धारा लगायत थुप्रै विकास निर्माणका काम गरिसकेकोमा सबैले प्रशंसा गरे ।
बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले वडा सदस्य समेत रहेका समाजसेवी कठायतको समाजसेवा गर्ने तीब्र चाहनालाई बैजनाथका जनताले साथ दिनुपर्ने कुरामा जोड दिदै अझै समाज सेवा गर्ने शक्ति मिलोस् भन्दै शुभकामना दिइन । सो कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवबहादुर खत्रीले नेपाली कांग्रेसले कर्ण कठायत जस्ता दानबीरलाई अझै प्रोत्साहन गर्नुपर्ने धारण राखे ।
नेपाली कांग्रेस बैजनाथ-४ का ४ नम्बर टोल सभापति समेत रहेका स्थानीय बडघर प्रभुदयाल थारूको अध्यक्षता भएको ट्रष्ट हस्तान्तरण समारोहमा कांग्रेस महाधिवेशन प्रतिनिधि कमला हमाल, नेपाली कांग्रेस प्रदेश सभा-३ ‘क’ का सभापति केशवकुमार शाह, कांग्रेस बैजनाथ सभापति देवबहादुर केसी, वडा सभापति सुरेश चन्द, दाता कर्ण कठायत, बैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, शालिक राम थारु लगायतले आआफ्नो धारणा राखेका थिए ।