नेपालगन्ज : लुम्बिनी र कर्णाली प्रदेशका सामुदायिक तथा सार्वजनिक पुस्तकालयको पहिलो प्रदेश सम्मेलन बाँकेको गाभरमा सुरु भएको छ । प्रदेशभित्र रहेका सामुदायिक पुस्तकालयलाई संगठित र एकताबद्ध रुपमा अगाडी बढाउने उद्देश्यले नेपाल सामुदायिक पुस्तकालय संघ लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने प्रदेश सम्मेलन सूरु भएको हो ।
सम्मेलनबाट लुम्बिनी र कर्णाली प्रदेशमा सञ्चालित पुस्तकालयबाट प्रदेश स्तरीय संघ बिस्तार गर्ने र लुम्बिनी प्रदेश घोषणा पत्र जारी गर्ने कार्यक्रम रहेको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले सम्मेलन उद्घाटन गरे । प्रमुख अतिथी आचार्यले पालिका र वडासम्म पुस्तकालय विस्तार गर्न जारी रहेको बताए ।
सम्मेलनमा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्की, नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रिय महासचिव राजेन्द्र पाण्डे, शिक्षा विकास तथा समन्वय ईकाइ बाँकेका प्रमुख रामसुरेश यादव, जिल्ला हुलाक बाँके प्रमुख गोविन्द पाण्डे, सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख उद्धव श्रेष्ठ लगायतले सामुदायिक पुस्तकालको महत्व, आवश्यकताका विषयमा धारणा राखेका थिए ।
नेपाल सामुदायिक पुस्तकालय संघ लुम्बिनी प्रदेशका अध्यक्ष चेतकान्त भट्टराईको सभापतित्वमा आयोजित सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पुस्तकालय शाखाका उपसचिव यादवचन्द्र निरौलाले देशभर सञ्चालनमा हजारौं सामुदायिक पुस्तकालय रहेपनि आधिकारिक र सरकारी मातहतमा डेढ सयको संख्यामा मात्र सञ्चालनमा आएको देखिएकाले बाँकी पुस्तकालयलाई पनि सक्रिय बनाउन आवश्यक रहेको बताए ।
मन्त्रालयले सामुदायिक पुस्तकालयको क्षमता विकास, तालिम, पुस्तकालय सहयोग र प्राविधि हस्तान्तरण जस्ता काम गर्दै आएको उनले सुनाए । कर्णाली र लुम्बिनी प्रदेशमा संघको बिस्तार नभएकाले सम्मेलनबाट प्रदेश स्तरीय समिति बिस्तार हुने सहभागीले आशा व्यक्त गरे ।
सम्मेलनमा दुई प्रदेशका दुई दर्जन बढी सामुदायिक पुस्तकालयका प्रतिनिधिको सहभागिता रहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, बाँके राष्ट्रिय निकुञ्ज, ज्ञानोदय सामुदायिक पुस्तकालय कोहलपुर लगायतका निकायसँगको समन्वय र सहकार्यमा दुई दिने प्रदेश सम्मेलन सुरु भएको हो ।