नेपालगन्ज : आफ्नो मान्यजनको हातबाट टिका र जमरा थाप्नु बडादसैंको महत्वपुर्ण विशेषता हो । त्यसैले यसपर्वमा अधिकांस ब्यक्तिहरु मान्यजन कहाँ टिका थाप्न जान्छन् । यो क्रम विजया दशमीदेखी कोजाग्रत पूर्णिमासम्म चल्छ । मान्यजनको हातबाट टिका थापेर आर्शिवाद लिने हिन्दु धर्मावलम्वीको परम्परा नै हो ।
दसैँमा राष्ट्रपति, प्रधानमन्त्री लगायत देशका विशिष्ट ब्यक्तिले सर्बसाधारणलाई टिका लगाइदिने प्रचलन त छ नै । तर, स्थानीय सरकार प्रमुखले सर्बसाधारणलाई दसैँ टिका लगाइदिएर आर्शिवाद दिएको कुरा कमै मात्रामा सुनिन्छ । बाँकेको राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले आफन्तलाई मात्र होइन, आफ्ना शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्ता र सर्बसाधारणलाई पनि विजया दशमीको टिका लगाइदिएका हुन् ।
स्थानीय सरकार प्रमुख समेत रहेका गाउँपालिका अध्यक्ष थारु शुक्रबार विजया दशमीमा दिनभर टिका लगाउन ब्यस्त भए । बिहान १० बजेर २ मिनेटको शुभ साइतमा आफ्नी ७५ वर्षीया आमा माइती थारुको हातबाट टिका ग्रहण गरेका अध्यक्ष थारुले सवा १० बजेबाट आफन्त, शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्ता र सर्बसाधारणलाई टिका लगाउन सुरु गरेका थिए । टिका लगाउने कार्यक्रम बेलुका ७ बजेसम्म चलेको उनले बताए ।
बिहानदेखी बेलुकासम्म आफुले करिव ५ सय जनालाई दसैं टिका लगाइदिएको अध्यक्ष थारुले सुनाए । ‘बिहानदेखी टिका लगाउन बसेको हुँ, एकछिन पनि फुर्सद भएन, बिहानदेखी बेलुकासम्म करिव ५ सय जनालाई दसैं टिका र जमरा लगाइदिँए,’ उनले भने ।
दसैँ टिका लगाउन नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा अध्यक्ष गंगाराम थारु लगायत नेपालगन्ज, कोहलपुरदेखी राप्ती सोनारी गाउँपालिका क्षेत्रभित्रका ब्यक्तिहरु आएको अध्यक्ष थारुले बताए ।
विगतका दसैंमा सिमित संख्यामा दसैं टिका लगाइदिने गरेको स्मरण गर्दै उनले यसपटक विशेष रुपले आफन्त, शुभेच्छुक, पार्टीका नेता कार्यकता तथा सर्बसाधारणसँग पनि दसैं सामुहिक रुपमा मनाएको सुनाए ।