नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोस्थित भुजई गाउँमा सञ्चालित केयर सिटी अस्पतालले थप सेवा सुविधा विस्तार गरेको छ । अस्पतालले अब २४ सैं घण्टा विशेषज्ञ चिकित्सक सहितको सेवा दिन सुरु गरेको हो ।
अस्पतालले १५ बेड क्षमताबाट सेवा दिइरहेको छ । उक्त अस्पतालले स्वास्थ्य तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिको आवद्धतामा आफ्नो सेवा विस्तार गरेको हो । अस्पतालले इमरजेन्सी, फार्मेसी, अत्याधुनिक प्रयोगशाला, एक्सरे तथा भिडियो एक्सरे सेवासहित २४ सैं घण्टा चिकित्सकको उपस्थितीमा आफ्नो सेवा विस्तार गरेको छ ।
अस्पतालमा आइसियु, एनआइसीयु, भेन्टिलेटर, अप्रेशन कक्ष र अत्याधुनिक प्रयोगशालाको सुविधा थपिएको छ । करिव २० करोडको लागतमा एक विघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको अस्पतालमा बालरोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, निसन्तान तथा बाँझोपन, हाडजोर्नी, न्यूरो सर्जरी, नाक कान घाँटी, जनरल सर्जरी तथा रेडियो विभाग रहेको अस्पतालका प्रबन्ध निर्देशक सन्तोष साहले जानकारी दिए ।
अस्पतालले प्रत्येक महिना काठमाण्डौंबाट आईभिएफ विशेषज्ञ, इण्डोक्राइनोलोजिष्ट तथा न्यूरो फिजिसिन जस्ता सुपर स्पेसियालिटी डाक्टरहरु उपलब्ध गराई सेवा प्रदान गरिरहेको उनले बताए । नेपाल र भारतको ख्याति प्राप्त मेडिकल कलेजमा अध्ययनरत नेपालगन्जकै युवा चिकित्सकको टिमबाट सञ्चालन हुँदै आएको उक्त अस्पतालमा १७ जना विशेषज्ञ चिकित्सक, २ जना मेडिकल अफिसर, २१ जना नर्सिङ स्टाफसहित ७२ जनाको टिम रहेको बताइएको छ ।
केयर सिटी अस्पताललाई निकट भविष्यमै ५० बेड क्षमताका साथ सञ्चालन गर्नका लागि आवश्यक पर्ने पूर्वाधार, जनशक्ति तथा साधन श्रोतको व्यवस्थापन स्वीकृतिका लागि प्रकृया प्राप्त भइसकेको अस्पतालका अध्यक्ष एवम् बालरोग विशेषज्ञ डाक्टर विष्णुकुमार थापाले जानकारी दिएका छन् । अस्पतालको शुक्रबार प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।