नेपालगन्ज : नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाको शनिबार सम्पन्न १४ औं साधरण सभा एवम् अधिवेशनमा १४ बुदेँ नेपालगन्ज घोषणा पत्र जारी गरिएको छ । महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न साधारण सभाले पत्रकार र पत्रकारिता क्षेत्रका विविध विषयमा घोषणा पत्र जारी गरेको हो ।
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा र प्रर्बद्धनका लागि सम्पूर्ण आमसञ्चार माध्यम र पत्रकारहरुलाई अझ बढी जिम्मेवार, कर्तब्यनिष्ट, जवाफदेही र संयमतापूर्वक काम गर्न घोषणा पत्रमार्फत आग्रह गरिएको छ । यस्तै पत्रकार आचार संहिता, पत्रकारिताका स्थापित मूल्य, मान्यता र सिद्धान्त अनुरुप सत्य, तथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रकाशन प्रशारण गर्न आमसञ्चार माध्यम र पत्रकारलाई आग्रह गरिएको छ ।
साना लगानीमा सञ्चालन गरिएका महिला भाषा भाषीका मिडियाको संरक्षण सम्बद्र्धन गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन गर्न जोडदार माग गर्दछ । मिडिया मैत्री नीति तथा कानून बनाउन माग गर्दै नेपाल पत्रकार महासंघसँग समन्वय गर्न माग गरिएको छ ।
उक्त घोषणापत्रमा भनिएको छ, ‘स्थानीय, प्रदेश र संघीय सरकारलाई समानुपातिक रुपमा विज्ञापन वितरण गर्न जोडदार माग गर्दछ । स्थानीय विज्ञापन स्थानीय मिडियालाई प्राथमिकता साथ दिने व्यवस्था माग गर्दछौं ।’ यसैगरी अनलाईन आमसञ्चार माध्यमको दर्ता र नविकरण, पत्रकार परिचयपत्रको वितरण र नविकरण जिल्ला तहबाटै उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । समाचारमूलक आमसञ्चार माध्यम र सोसल मिडियाबारे सर्वसाधारणमा एकै बुझाई भएकाले फेसबुक, यूटुब लगायतका सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नीति, विधि, कार्यविधि, निर्देशिका र ऐन, कानून निर्माण माग गर्ने’ तथा सातौं बुदाँमा ‘श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ ।
यस्तै आठौं र नवौं बुदाँमा ‘आर्थिक मन्दीका कारण जिल्लामा सञ्चालित आमसञ्चार माध्यमको दीगोपनाका लागि स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बन्न ध्यानाकर्षण गराउने’ तथा ‘नेपाल पत्रकार महासंघको सदस्यता वितरण गर्दा मापदण्ड पुगेका क्रियाशिल पत्रकारलाई सरल र सहज विधिमा सदस्यता उपलब्ध गराउन र पत्रकारिता पेशामा क्रियाशिल नरहेका सदस्यहरुलाई स्वघोषणा वा स-सम्मान सदस्य नरहेको व्यवस्था मिलाउन सम्बद्ध सबैमा आग्रह गर्ने लगायतका विषय उल्लेख गरिएको छ ।
महासंघको घोषणापत्र तयारीका लागि शंकरप्रसाद खनालको संयोजकत्वमा अर्जुन ओली, मधु पौडेल, बिमला चौधरी र आलम खानलाई साधारण सभाको बन्द शत्रले जिम्मेवारी दिएको थियो । साधारण सभाको उद्घाटन शत्रमा लियाकत अलि पत्रकारिता पुरस्कारबाट निरज गौतम र शिव डोटेललाई सम्मान गरियो ।
यस्तै क्रियाशिल पत्रकारिता पुरस्कारबाट विजय मल्ल र बैकुण्ठ अधिकारी, सुर्यनाथ गौतम स्वास्थ्य(मुटु) पत्रकारिता पुरस्कार शंकर खनाल र शोभा केसी, चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबाट विश्वराज पछलडंङग्या र रबिन्द्र घिमिरे, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट लक्ष्मण ढुंगाना (बर्दिया) र अनिता विश्वकर्मा (बाँके), रामकली, रामआधार पत्रकारिता पुरस्कारबाट बिक्रम बुढाक्षेत्री र अभिशेक गुप्ता, बेलमती स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गजेन्द्र गुरुङ्ग र रुपनी जिएम, आँखा स्वास्थ्य पत्रकारिताबाट खम्बप्रसाद पुन, कृष्णराज अधिकारी र चन्द्र बोहरा तथा गुरु खत्री पत्रकारिता पुरस्कारबाट तिलक गाउँलेलाई नगदसहित पुरस्कृत गरियो ।
महासंघले पूर्वअध्यक्ष एवम सल्लाहकारलाई सम्मान गर्ने कार्यलाई समेत निरन्तरता दिदै कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ र सल्लाहकार डक्टप्रसाद धिताल तथा महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अली, पूर्वअध्यक्ष हेमन्त कर्मचार्य, निरज गौतम, प्रेम केसी, झलक गैरे, शुक्रऋषी चौलागाई, रुद्र सुवेदी र ठाकुरसिंह थारुलाई सम्मान गरेको छ । महासंघ बाँकेले पुर्वअध्यक्ष रुद्र सुवेदीको संयोजकत्वमा डक्टप्रसाद धिताल र नवीन गिरी सम्मिलित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो ।
साधारण सभाको उद्घाटन शत्रमा प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य एवम् नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द पाण्डे, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस संगठनका अध्यक्ष राजेश आचार्य, प्रगतिशिल पत्रकार संघका तिलक गाउँले, समाजवादी प्रेस संगठनका लोकनाथ शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । महासंघको बन्द शत्रमा प्रस्तुत महासंघ बाँकेका सचिव कमल डाँगी र कोषाध्यक्ष बिनोद पौडेलको प्रतिवेदन सुझाव सहित पारित भएको छ ।