नेपालगन्ज : नेपाली काँग्रेस बाँकेले आफ्नो दोस्रो जिल्ला सम्मेलन शनिबार नेपालगन्जमा सम्पन्न गरेको छ । उक्त सम्मेलनको नेपाली कांग्रेसका पुर्वमहामन्त्री डा. शशांक कोइरालाले उद्घाटन गरे । उद्घाटन मन्तब्य दिदै उनले संविधानसभाबाट संविधान जारी गर्नमा स्वर्गिय पुर्वप्रधानमन्त्री एवम् पुर्वपार्टी सभापति स्वर्गिय सुशिल कोइरालाको योगदान अविष्मरणीय रहेको बताए ।
यस्तै पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले कांग्रेसलाई वडा तहबाटै बलियो बनाउनुपर्नेमा जोड दिए । सो क्रममा पार्टीका केन्द्रीय सदस्यद्वय डा. गोपाल दहित र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे, कांग्रेस बाँकेका पुर्वसभापति गजेन्द्रबहादुर हमाल, किरण कोइराला र कृष्णमान श्रेष्ठ, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य अञ्जना पाण्डे, पार्टीका क्षेत्रीय सभापति पोषण केसी, रमेशकुमार गुप्ता र मोहम्मद नकी खाँ लगायतले पनि मन्तब्य राखेका थिए ।
उक्त सम्मेलनमा सभापति नारायणप्रसाद गौडेलले बार्षिक नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले आर्थिक प्रतिवदेन प्रस्तुत गरे । सो क्रममा अग्रज नेता तथा ब्यक्तित्व, समाजसेवी, प्रजातन्त्र सेनानी, पूर्वजनप्रतिनिधि, उत्कृष्ट काम गर्ने वडा सभापति लगायतलाई सम्मान गरियो ।
सम्मेलन जिल्ला सभापति गौडेलको सभापतित्वमा भएको थियो । सम्मेलन उद्घाटन शत्रमा उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत र अर्का उपसभापति कृष्णबहादुर कार्कीले धन्यवाद ज्ञापन गरे ।