नेपालगन्ज : नेपाली कांग्रेस बाँकेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग छलफल गरेको छ । कांग्रेसबाट पालिकामा निर्वाचित प्रमुख एवम उपप्रमुखसँग पार्टी कार्यालय नेपालगन्जमा छलफल गरिएको हो । हालसम्म भएका प्रगति र पार्टीसँगको समन्वयका विषयमा छलफल आयोजना गरिएको सभापति नारायणप्रसाद गौडेलले बताएका छन् ।
‘प्रमुख-उपप्रमुखले निर्वाचन ताका गरेका प्रतिवद्धता के-कति पूरा भए, के-कति पूरा हुने चरणमा छन, जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा भएका प्रगति, भौतिक र मानवीय विकासको सूचक लगायत सुशासन र समग्र समृद्धिका हिसाबले भए गरेका प्रगतिबारे जानकारी लिने उद्देश्यले उहाँहरुसँग बैठक गरेका हौं, जनतालाई सन्तुष्ट बनाउने गरी काम गर्न भनेका छौं, उहाँहरुले अहिलेसम्म भएका प्रगति, चुनौती र भावी योजनाबारे हामीलाई जानकारी गराउनु भएको छ,’ सभापति गौडेलले भने ।
सिमित स्रोत, साधनका बाबजुद जनअपेक्षा अनुसार काम गर्ने कोशिस गरिरहेको उनीहरुको भनाई छ । छलफलमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ र खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले निर्वाचित भएपछि हालसम्म (दुई वर्षभित्र) गरेका कामको बारेमा जानकारी गराएका थिए ।
काँग्रेस बाँकेका कार्यालय सचिव अमित कँडेलका अनुसार उक्त छलफलमा सभापति गौडेल, उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिव रेणुसिंह ठाकुर, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, महासमिति सदस्य लक्ष्मीनारायण शाह, पार्टीका खजुरा गाउँपालिका सभापति रमेश सिंजाली, जानकी गाउँपालिका सभापति दयाराम यादव, राप्तीसोनारी सभापति भिमबहादुर रानाक्षेत्री लगायत उपस्थित थिए ।