(बाँके) बैजनाथ : बैजनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले सोमबार औपचारिक रुपमा घोषणा गरेका हुन् ।
बैजनाथ गाउँपालिका, स्वास्थ्य शाखाले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका चौधरीले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयं सेविका अथक प्रयासले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सम्भव भएको बताए ।
स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण कुरा खोप रहेको औल्याउँदै प्रमुख चौधरीले कतिपय समुदायमा अझैपनि खोपप्रतिको धारणा फरक रहेको बताए । ‘कतिपय समुदायले अझैपनि खोप लगाउन मान्दैनन्, खोप लगाएकै कारण बाल मृत्युदर घटेको छ, बालबालिकलाई अपांगता हुनबाट जोगाएको छ,’ उनले भने । सबै बालबालिकाले खोप अनिवार्य रुपमा लगाउनुपर्ने प्रमुख चौधरीले बताए ।
यस्तै बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले पूर्ण खोप घोषणामा स्वास्थ्यकर्मीको लगानीलाई गाउँपालिकाले कदर गर्ने बताइन् । सबै बालबालिकाले खोप पाएकाले पूर्ण खोप पालिका घोषणा गरिएको उनले प्रष्ट्याईन ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बालबालिकालाई विभिन्न १३ किसिमका खोप दिनुपर्ने र स्वास्थ्यमा पहिलो नम्बरको कार्यक्रम नै खोप कार्यक्रम भएको बताए । खोप नपाउने बच्चा अपांगता हुन सक्ने भएकाले अनिवार्य रुपमा खोप लगाउनुपर्ने उनको भनाई छ । खोप कार्यक्रम प्रभावकारी गराउनमा महिला स्वास्थ्य स्वयं सेविकाको भूमिका महत्वपूर्ण हुने प्रमुख शाहीले बताए । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा हुनेमा बैजनाथ तेस्रो पालिका रहेको जानकारी दिए । उनका अनुसार यसअघि जानकी र खजुरा गाउँपालिकालाई घोषणा गरिएको छ ।
उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणाका लागि अपनाइएको मापदण्डबारे जानकारी गराएका थिए । गाउँपालिकाको ८ वटै वडामा रहेका कुल ८ वटा स्वास्थ्य संस्थाबाट खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्ल, नौवस्ता स्वास्थ्य चौकीका ईन्चार्ज दिलबहादुर बिक, महिला स्वास्थ्य स्वयं सेविका सञ्जाल बैजनाथकी अध्यक्ष मन्दिरा रिमाल लगायतले बोलेका थिए ।
सो क्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्की, बैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक भूमिसरा राना, डब्लु.एच.ओ.का प्रतिनिधि, विभिन्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका लगायतको उपस्थिती रहेको थियो ।