कोहलपुर : कोहलपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मंगलबार घोषणा गरेका हुन् । नगरपालिकाले आयोजना गरेको औपचारिक कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका चौधरीले सबै बालबालिकाहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिए ।
यस्तै नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले खोपको आवश्यकता र महत्वबारे अभिभावकलाई नै बढी जिम्मेवार बनाउन आवश्यक रहेको बताए । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बालबालिकालाई विभिन्न १३ किसिमका खोप दिनुपर्ने र स्वास्थ्यमा पहिलो नम्बरको कार्यक्रम नै खोप कार्यक्रम भएको बताए ।
नगरपालिकामा खोप लगाउन छुटेका २६ जना बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय अधिकारी बिक्रम पाण्डे, कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष लालबहादुर राना, सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद बि.क, वडा नंम्बर २ स्थित स्वास्थ्य चौकी ईन्चार्ज लिलाबहादुर बुढाथोकी, महिला स्वास्थ्य स्वयंसेविका भगवती बस्नेत लगायतले बोलेका थिए ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, नगर उपप्रमुख संगिता सुवेदी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, डब्लुएचओका प्रतिनिधि, विभिन्न वडाका वडाअध्यक्षहरु, कर्मचारी, स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेको थियो ।