बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीस्थित रारा बस्तीमा शनिबार रोपाई महोत्सव गरिएको छ । बैजनाथ गाउँपालिका कृषि शाखाको आयोजनामा रोपाई महोत्सव गरिएको हो ।
बैजनाथ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्लको अध्यक्षतामा सम्पन्न महोत्सवमा बोल्दै प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले धान मानवका लागि अत्यन्तै महत्वपूर्ण अन्नबाली भएको बताए । बैजनाथ गाउँपालिका सरकारले किसानसँग पालिका प्रमुख कार्यक्रम ल्याएर कृषिमा आत्मनिर्भर गराउने सोचमा रहेको बताए ।
‘कृषिलाई प्रविधिसँग जोड्दैछौं, कृषिमा अनुदान दिएका छौं, यान्त्रीकरणसँग जोडेका छौं, पशु पालक किसानलाई ७० प्रतिशत अनुदान दिएका छौं,’ उनले भने । गाउँपालिकामा ७० प्रतिशत जनता कृषिमा आश्रित भएको हुनाले किसानसँग पालिका प्रमुख कार्यक्रम जोडेका गाउँपालिका अध्यक्ष शाहीले बताए ।
‘देशभरका ७ सय ५३ स्थानीय सरकार मध्ये सबैभन्दा ठुुलो कृषिमा बजेट ल्याउने बैजनाथ गाउँपालिका हो, किसानले यस कार्यक्रमबाट विभिन्न खालका अनुदान प्राप्त गर्नु भएको छ,’ उनले थपे । यस्तै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बैजनाथलाई कृषिसँग जोडेर कसरी लैजाने भनेर आफुहरु लागिरहेको बताइन् ।
‘बैजनाथ गाउँपालिकाले पनि कृषि तर्फ थुप्रै काम गर्दै आएको छ, हामीले सिचाई नपुगेको ठाउँमा बोरिङ, सिचाई कुलो, समरसेभलको ब्यवस्था र यान्त्रीकरणलाई जोडेर लिएका छौं,’ उनले भनिन् ‘बोरिङ भएको ठाउँमा कुलोको आवश्यकता देखिएको छ, किसानहरुको हक र हितका निम्ति, किसानका समस्यालाई मनन् गर्दै स्थानीय सरकार अगाडी बढिरहेको छ ।’ किसानहरुलाई पक्कैपनि राहत मिलेको महसुस भएको उपाध्यक्ष रोकायले बताइन् ।
बैजनाथ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्लले किसानसँग पालिका प्रमुख कार्यक्रम ल्याएर बाँझो जमिनलाई सिचाई उपलब्ध गराउनुपर्छ, मल बीउ उपलब्ध गराउनुपर्छ भनेर स्थानीय सरकार लागिरहेको बताए । ‘हामीले दिएको मोटर, हामीले दिएका समरसेभल पम्प, सदुपयोग गर्नुपर्छ, किसानसँग पालिकाप्रमुख कार्यक्रम अन्तर्गत सिचाईसँगै कृषिमा जोड दिएका छौं,’ उनले भने ।
बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले रारा बस्ती कृषि क्षेत्रको लागि सबैभन्दा उर्वरशिल भएको कुरा आफुले पाएको बताए । ‘यो बस्तीलाई कृषि हवको रुपमा विकास गर्न खोजिराखेका छौं, प्राङ्गारिक मलको लागि विभिन्न कम्पोष्ट खाडल बनाउनेदेखी लिएर रैथाने बाली प्रवद्र्धन गर्न खोजिरहेका छौं,’ उनले भने ।
रोपाई महोत्सवमा बैजनाथ-६ का वडाअध्यक्ष भुपाल पुनमगर, कार्यपालिका सदस्य रुपा थापा, गाउँपालिका योजना शाखा प्रमुख डोटी नेपाली, इन्जिनियर धर्मेन्द्र आचार्य, राराबस्ती कृषक समुहका अध्यक्ष मानबहादुर बुढा, विभिन्न समुहका पदाधिकारी, किसान लगायतको उपस्थिती रहेको थियो ।