नेपालगन्ज : भारतसँग जोडिएको पश्चिम नेपालको अति ब्यस्त रहने नेपालगन्ज नाकाबाट सहजै रुपमा सामान तस्करी हुने गरेको छ । तस्करहरुले भन्सार कर्मचारी, सुरक्षाकर्मी लगायतलाई प्रभावमा पारेर ठुलो परिमाणको सामान तस्करी गर्ने गरेका हुन् ।
भारतबाट त्यसरी अबैध रुपमा भित्रिने सामानले नेपालगन्ज, कोहलपुर लगायत बजारमा ‘बैधता’ पाउने गरेको छ । ति सामान ब्यापारीमार्फत उपभोक्ताको हातमा पुगिरहेको छ । भारतबाट लत्ता कपडा, खाद्यान्न, मोटर पाट्स, इलेक्ट्रोनिक लगायतका सामान अबैध रुपमा भित्रिन्छ ।
नाकामा खटिने भन्सार कर्मचारी र सुरक्षाकर्मीले ठुलो परिमाणमा भित्रिने ति सामानलाई आफैले गन्तब्यसम्म पुर्याउने गर्छन् । स्रोतका अनुसार तस्करले लाईन मिलाएर भित्र्याउने उक्त सामान सिधैं नेपालगन्जका गोदाममा भण्डारण गर्छन् । ‘भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङमै तस्करहरुले भारतबाट एकै पटक लाखौं÷करोडौं मुल्यका सामान भित्र्याउँछन्,’ स्रोतले भन्यो ‘तस्करीहरुले भन्सार महसुल नबुझाएर त्यस वापतको रकम कर्मचारी र सुरक्षाकर्मीलाई बाँड्छन् ।’
स्रोतका अनुसार नेपाल-भारत सिमानाका जमुनाहा हुदै ट्रक तथा कन्टेनरमार्फत अबैध सामान नेपालगन्ज भित्रिरहेको छ । बाँके प्रहरीले पछिल्लो समयमा बरामद गरिरहेको सामानको प्रकृती हेर्दा शिल प्याक गरिएका ति सामानहरु ट्रक वा कन्टेनरमार्फत भित्रिएका हुन् ।
३८ लाख बढीको सामान बरामद
बाँके प्रहरीले सोमबार मात्रै भारतबाट तस्करी भएर भित्रिएको ठुलो परिमाणको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज–२ न्युरोड, भानुभक्त चोकस्थित सोनी गुप्ताको घरमा छापा मारेर ३८ लाख ३९ हजार २ सय मुल्य बराबरको अबैध लत्ताकपडा बरामद गरेको प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याई भण्डारण गरी राखेको उक्त कपडा बरामद गरिएको उनले बताए । डिएसपी डाँगीका अनुसार ३४ लाख १९ हजार २ सय मुल्य बराबरका ४ हजार २ सय ७४ थान कुर्ता सुरुवाल रहेको छ । यस्तै ४ लाख २० हजार मुल्य बराबरको ८ सय ४० थान साडी बरामद गरिएको छ ।
बरामद गरिएको लत्ता कपडा र तस्करीमा संलग्न ब्यक्तीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ । यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख धु्रबराज बिश्वकर्माले फोन उठाएनन् । कार्यालयका भन्सार अधिकृत एवम् सूचना अधिकारी पूर्णप्रसाद लम्सालले भने भारतबाट अबैध रुपमा सामान कसरी सामान भित्रिन्छ ? यसबारेमा आफुहरु अनविज्ञ नै रहेको बताए । ‘भारतबाट कसरी अबैध रुपमा सामान भित्रिन्छ, यसबारे हामीलाई जानकारी हुदैन, त्यो त बरामद गर्ने सुरक्षाकर्मीलाई थाहा होला,’ उनले भने ।
नेपालगन्जमा ठुलो परिमाणमा बरामद गरिएको लत्ता कपडा ट्रक वा कन्टेनरबाट आएको हुन सक्ने आशंका गरिएको प्रहरी स्रोतले जनाएको छ । ‘यो लत्ता कपडा कुनै सामान्य मान्छेले क्यारिङ गरेर ल्याएकै होईन, क्यारिङ गरेर ल्याएको सामान मज्जाले चिनिन्छ,’ स्रोतले भन्यो ‘यो सामानको प्रकृति हेर्दा सिधैं ट्रक वा कन्टेनरबाट आएको जस्तो देखिन्छ, जुन तस्करहरुका लागि सहज भएको छ ।’ पछिल्लो समयमा भारतबाट अबैध रुपमा भित्रिएका सामानको प्रकृति एउउटै खालको भएको प्रहरी स्रोतले जनाएको छ । पछिल्लो समयमा बाँके प्रहरीले भारतबाट अबैध रुपमा भित्रिने गरेका सामान बरामद गर्दै आएको छ । -नागरिकन्यूजबाट