नेपालगन्ज : राप्ती नदीमा आएको बाढीले बाँकेको कुसुममा रहेका गाउँहरु डुब्न थालेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ अन्तर्गत गर्ने कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेको हो । स्थानीय खुमलाल रावत, प्रेम सुनार, शालिकराम भण्डारीको घरमा राप्तीको बाढी पसेको स्थानीय माधव रावतले जानकारी दिएका छन् ।
यस्तै स्थानीय राजकुमार रावत, गर्भे बिक, रमेश भण्डारी, धर्मबहादुर ओली, चोपा ओली, रोवर ओलीको घर पनि डुबानको जोखिममा परेको उनले बताए । राप्ती सोनारी–१ अन्तर्गत पर्ने कुसुमका अन्य विभिन्न गाउँहरु पनि डुबानको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।
राप्तीको बाढी खतराको चिन्हभन्दा माथी
राप्तीको बाढी खतराको चिन्हभन्दा माथी पुगेको छ । बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो १ः३० बजेको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ७ मिटर १० सेन्टिमिटर पुगेको हो । कुसुमस्थित बाढी मापन केन्द्रमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर (खतराको चिन्ह) पुगेपछि राप्तीको तल्लो तटिय क्षेत्रमा डुबान हुने जोखिम हुन्छ ।
ईलाका प्रहरी कार्यालय कुसुमका ईन्चार्ज दोर्ण खड्काले दिएको जानकारी अनुसार आइतबार दिउँसो १ः३० बजेको रेकर्ड अनुसार नदीको सतह ७ मिटर १० सेन्टिमिटर पुगेको हो । ‘बाढी अझै बढ्दो क्रममा छ, अहिले पनि हामी नदी किनारमै छौ,’ उनले भने । राप्ती नदीको सतहले खतराको चिन्ह पार गरेपछि उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘राप्तीमा पानीको सतह क्रमिक रुपले बढिरहेको छ, उद्धारमा खटिने सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेका छौं,’ उनले भने ।
सिक्टा सिचाई आयोजनाको अगैयास्थित ब्यारेजका ढोका आवश्यकता अनुसार खोल्न लगाएको बताए । लक्ष्मणपुर बाँधका ढोका भने भारतले खोले÷नखोलेको बारे अहिलेसम्म कुनै जानकारीमा नआएको प्रजिअ रिजालले सुनाए । राप्तीको बाढी बढेपछि सिक्टा सिचाई आयोजनाको ब्यारेजका ढोका पनि क्रमशः खोेलिएको आयोजनाका निर्देशक देवराज निरौलाले बताए । सिक्टाका कुल १८ वटा ढोका मध्ये आईतबार दिउँसो १ः३० बजेसम्म १३ वटा ढोका खोलिएको उनले जानकारी दिए ।
बाढी आएपछि राप्ती नदीको तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दा त्रसित भएका छन् । कुसुमबाट राप्तीको तल्लो तटिय क्षेत्रसम्म बाढी आईपुग्न करिव ५ देखी ६ घण्टा जति समय लाग्ने बताइन्छ । राप्तीको तल्लो तटिय क्षेत्र राप्ती सोनारीको फत्तेपुर, नरैनापुरको गंगापुर, मटेहिया तथा डुडुवा गाउँपालिकाको कम्दी, बेतहनी, बनकट्टी, होलिया गाउँहरु डुबानमा पर्छन् । भारतले अन्र्तराष्ट्रिय कानुन विपरित सिमाक्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँध जस्तो सडकका कारण वर्षेनी नेपाली भूमी डुबानमा पर्ने गरेका छन् ।