मुगु : हतियार देखाएर लुट्दै हिड्ने लुटेरा समुहलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुले आइतबार साँझ पत्रकार सम्मेलन गरेर लुटेर समुहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो ।
प्रहरीले ६ जना पक्राउ गरेको थियो तर पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा नम्बर ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाउँका पुर्णप्रसाद भण्डारी र वडा नम्बर ४ का कमल थापा रहेका छन् । घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले जानकारी दिए ।
लुटेरा समुहले गाँउका २४ वटा घर, एउटा गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ती, रिणिमोक्क्ष माइको मुर्ती, मुगाको माला ९५ तोला, यार्सा, मोबाईल र ५० लाख २५ हजार नगद लुटेको स्थानीय बासिन्दा जाहेरी दिएका छन् । घटना भएको झण्डै एक महिनापछि लुटपाटमा संलग्न ८ जनाको टोली मध्ये प्रहरीले ३ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
प्रहरीले उनीहरुको साथबाट एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, कटुवा पेस्तोल १ थान, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्ब्याड ड्रेस, एउटा ट्रेकिङ झोला र एउटा सल बरामद गरेको छ ।