नेपालगन्ज : नेपाली कांग्रेसका संस्थापक नेता, पूर्वसभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा आइतबार बाँकेमा विभिन्न कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस बाँकेले माल्यार्पणसहित हाजिरी जवाफ प्रतियोगिता गरेको छ ।
नेपालगन्जस्थित वीपी चोकमा रहेको शालिकमा माल्यार्पण गरिएको छ । कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले वीपीको शालिकमा माल्यार्पण गरे । उक्त कार्यक्रममा पूर्वजिल्ला सभापति सनत रेग्मी, गजेन्द्रबहादुर हमाल, किरण कोइराला तथा पदाधिकारी, नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।
यस्तै स्मृति दिवसकै अवसरमा आइतबार कांग्रेस बाँकेले सामुदायिक बिद्यालयका बीचमा हाजिरी जवाफ प्रतियोगिता गरेको छ । विभिन्न १० वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा फुक्रटेक्रा माध्यामिक बिद्यालय पहिलो, धम्बोझी मावि दोस्रो र आदर्श मावि राँझा तेस्रो तथा महाराजा मावि सान्त्वना भएको नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले जानकारी दिए ।
प्रतियोगिताका विजेता विद्यालयलाई प्रमुख अतिथी एवम् कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, कार्यबाहक सभापति अधिकारी, लुम्बिनी प्रदेश सदस्य कृष्ण कुमारी सापकोटा (चौधरी), जिल्ला सचिव कोइराला, सह-सचिव रेनुसिंह ठाकुर, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायतले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरे ।