नेपालगन्ज : वरिष्ठ साहित्यकार तथा गितकार स्वर्गिय प्रेमप्रकाश मल्ल 'मधुकर' को ८९ औं जन्मजयन्ती शनिबार नेपालगन्जमा मनाइएको छ । जन्मजयन्तीको अवसरमा भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जले पुरस्कार अर्पण तथा सम्मान समारोह आयोजना गरेको हो ।
समाजका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको सभापतित्व एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यतामा समारोह गरिएको हो । उक्त समारोहमा साहित्यकार खगेन्द्र गिरी 'कोपिला' लाई प्रेमप्रकाश मल्ल मधुकर पुरस्कार प्रदान गरियो । उक्त पुरस्कार ५१ हजार १ सय ११ रुपैयाँ राशीको रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथी रेग्मी, विशिष्ट अतिथी एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल लगायतले साहित्यकार गिरीलाई दोसल्ला ओढाएर प्रमाणपत्र र पुरस्कार राशी हस्तान्तरण गरे । सो क्रममा बोल्दै प्रमुख अतिथी रेग्मी, प्रमुख जिल्ला अधिकारी रिजाल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, सम्मानित ब्यक्तित्व एवम् साहित्यकार गिरी, समाजका निर्वतमान अध्यक्ष एवम् सल्लाहकार हरिप्रसाद तिमिल्सेना लगायतले स्वर्गिय प्रेम प्रकाश मल्लको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा कोषका संरक्षण एवम् स्वर्गिय मल्लकी छोरी वाणीश्री मल्लले पनि आफ्नो मन्तब्य राखेकी थिइन् । वरिष्ठ साहित्यकार तथा गितकार स्वर्गिय मल्लले स्वर तथा शब्द सिर्जना गरेका गितहरु 'म मरेपनि मेरो देश बाँचिरहोस्'...........'पोखरा त साँच्चिकै पोखरा नै रैछ'.......लगायत दर्जनौं गितहरु चर्चामा छन् । मल्लले आफ्ना थुप्रै साहित्यिक कृति पनि प्रकाशन गरेका थिए ।
सोही कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २० का वडाअध्यक्ष कौशलकुमार धोबी, कविन्द्र सिग्देल, चन्द्र रावल, राप्ती सोनारी गाउँपालिका कार्यालय लगायतलाई भाषा, साहित्य क्षेत्रमा योगदान गरे वापत सम्मान गरियो ।
कार्यक्रममा साहित्यकार कपिल अन्जान, सुन्दर गुरुङ, कृष्ण रानाभाट, देवकी निरौंला, नरेन्द्रबहादुर स्वाँर, भिम प्रज्वल लगायतले आ-आफ्नो रचना वाचन गरे । उक्त कार्यक्रम सञ्चालन समाजका महासचिव गिता अर्यालले गरेकी थिइन् । कार्यक्रममा अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष एवम वरिष्ठ साहित्यकार विष्णुलाल कुमाल, वरिष्ठ पत्रकार पूर्णलाल चुके, जे. पाण्डे, गणेश जिसी, किरण आचार्य सहित नेपालगन्ज क्षेत्रका साहित्यकार, कलाकार, समाजसेवी, सञ्चारकर्मी लगायतको बाक्लो मात्रामा उपस्थिती रहेको थियो ।