कोहलपुर : कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रका छाडा पशुचौपाया संकलन गरि शनिबार राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा पुर्याएको छ । कोहलपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपाका कारण सवारी दुर्घटना बढेको, नगर क्षेत्रमा रोपिएका बोटबिरुवा र किसानलाई समेत सास्ती दिएको पाइएपछि कोहलपुर नगर प्रहरी, इलका प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा गौ सेवा धाममा र्पुयाइएको नगर प्रहरी प्रमुख बीरबहादुर थापाले बताए ।
नगर क्षेत्रमा रहेका छाडा पशुचौपाया कोहलपुर नगरपालिका–१२ चपरगौडीमा रहेको जनज्ञानज्योती बिधालयको खेल मैदानमा जम्मा गरि पैदलमार्गबाट ८८ वटा पशुचौपाया गौ सेवा धाममा पुर्याइएको पनि थापाले बताए । उनले छाडा पशुचौपायाको संरक्षण र व्यवस्थापनका लागि गौ सेवा धामसंग भएको सहमति अनुसार ती पशुचौपाया संकलन गरि पठाइएको हो ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले छाडा पशुचौपायाका कारण कोहलपुर नगरपालिकाको हरित नगर अभियानमा समेत असर परिरहेकोले त्यसको व्यवस्थापन गर्न खोजिएको बताए । कोहलपुर नगर क्षेत्रमा छाडा पशुचौपायाका कारण सवारी दुर्घटना भैरहेका छन । त्योबाट मानवीय क्षति त भएकै छ । पशुचौपाया पनि मरिरहेका छन ।
अर्कोतर्फ किसानको बालिनालीमा पनि नोक्सानी भैरहेको गुनासो आइरहेको छ । ‘नगरपालिकाको हरित नगर अभियानमा पनि छाडा पशु चौपाया बाधक भैरहेका छन् । यसको व्यवस्थापनका लागि गौ सेवा धामसँग भएको सहमति अनुसार ती पशुचौपाया संकलन गरी पठाइएको हो । यसले एकातिर कोहलपुरमा छाडा पशुचौपायाको समस्या पनि केहिहद सम्म समाधान हुने र अर्कोतर्फ पशुचौपायाको संरक्षण र व्यवस्थापन पनि हाम्रो विश्वास छ,’ नगर प्रमुख आचार्यले भने ।
कोहलपुर नगर क्षेत्रका छाडा पशुचौपाया संकलन तथा व्यवस्थापनका लागि कोहलपुर नगरपालिका–१२ का वडाअध्यक्ष बीरेन्द्र कुमार शाहको नेतृत्वमा वडा नम्बर १३ का वडाअध्यक्ष डम्बर बहादुर खड्का, जनप्रतिनिधि, स्थानीयबासी लगायतको समेत सहभागिता रहेको थियो ।