नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व सम्हालेपछि पहिलो पटक बाँके आएका मन्त्री प्रदिप पौडेल शुक्रबार विभिन्न कार्यक्रममा ब्यस्त भएका छन् । मन्त्री पौडेलले भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन तथा एमआरआई सेवा विधिवत रुपमा उद्घाटन गरे । निर्माण सम्पन्न भएपनि आवश्यक स्वास्थ्य पुर्वाधार र जनशक्ति नहुँदा उक्त भवन पूर्ण रुपमा प्रयोगमा आउन सकेको थिएन ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा पुर्वाधार विकासका निम्ति धेरै लगानी बढाउने स्थिती अहिले नरहेको बताए भौतिक ‘पुर्वाधार हामीले रातारात तयार गर्न सक्ने स्थिती छैन, जनशक्ती पनि एकदमै आवश्यकता अनुसार बढाउन सक्ने स्थिती छैन, पुर्वाधार पनि एकैचोटी बनाउन सकिदेन, अस्पतालको क्षमतालाई अधिकतम प्रयोग गरेर सेवा दिन सक्नुपर्छ,’ उनले भने ।
अस्पतालले नागरिकलाई सहज रुपले सेवा दिनुपर्ने मन्त्री पौडेलले बताए । ‘अतिरिक्त समयमा काम गरेर भएपनि सर्बसाधारण नागरिकलाई सेवा दिनुपर्छ, बरु सेवा सुविधा थप्न मन्त्रालय तयार छ,’ पौडेलले भने । प्रतिनिधि सभाकी सांसद दिपा शर्माले भेरी अस्पतालको विकासका लागि सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताइन् ।
अहिलेको सरकारले भेरी अस्पतालका लागि आवश्यक बजेट विनियोजन गर्ने उनको विश्वास छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले सरकारी अस्पतालप्रति जनताको विश्वास बढेको बताए । भेरी अस्पताललाई ३ सय शैयामा पुर्याउन आवश्यक प्रक्रिया अगाडी बढिसकेको उनले जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले अस्पतालको समग्र विकासका लागि आफुहरु लागिरहेको बताए । आफु नेतृत्वमा आएपछि धेरै काम भएको उनको भनाई छ । सो क्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश थापाले चिकित्सक, नर्स, पारामेडिक्स कर्मचारीको चरम अभावका कारण हाल प्रदान गरिरहेका सेवालाई ब्यवस्थित गर्न नसकिएको बताए । मेसु डा. थापाले अस्पतालको समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए ।
यस्तै मन्त्री पौडेलले शुक्रबार नै कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको सुभारम्भ गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार बीमा कार्यक्रमको शुभारम्भ गरेका हुन् । नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा भने भदौ १ गतेबाट सुरु हुनेछ । कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले कोहलपुर नगरपालिकाले आफैले थालेको स्वास्थ्य बीमा कार्यक्रम अन्य पालिकाले पनि अनुसरण गर्न आवश्यक रहेको बताए ।
‘नगरबासीलाई सर्वसुलभ र स्वास्थ्यको पहुँचमा ल्याउन कोहलपुर नगरपालिकाले सुरु गरेको बीमा कार्यक्रम अन्य पालिकाहरुमा सायदै लागु भएको होला उनले भने । नगर प्रमुख पूर्णप्रसाद आचार्यले नागरिकलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्ने गरी कोहलपुर नगर अस्पतालबाट बीमा कार्यक्रम लागु गरिएको बताए । सो क्रममा उनले स्वास्थ्यका विभिन्न ६ बुँदे मागसहितको ध्यानाकर्षण पत्र पनि मन्त्री पौडेललाई बुझाएका थिए ।
यसैगरी मन्त्री पौडेल नेपाली कांग्रेस बाँकेले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका छन् । कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कांग्रेसलाई आगामी निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने गरी सुदृढ र बलियो बनाउने काममा सबै लाग्नुपर्ने बताए । यस्तै उनले सबैलाई समेट्ने गरी स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउने काम भइरहेको जानकारी दिए ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले गरिव र निमुखा जनताको स्वास्थ्यमा सहज पहुँच पुर्याउने गरी नयाँ ढंगले काम गर्न मन्त्री पौडेललाई सुझाव दिए । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको समेत निरीक्षण गरेर मन्त्री पौडेल शुक्रबार नै काठमाडौं फर्केका छन् ।