काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले तीन महिने संगठन विस्तार अभियान थालेको छ । उक्त पार्टीले आगामी तीन महिनाभित्र सवै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, गाउँपालिका तथा वडा कमिटीहरू गठन गर्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।
उक्त पार्टीले आफ्ना नेता कार्यकर्ताहरूलाई कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्न निर्देशन दिएको छ । पार्टीको यसअघि १ सय ३५ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा केन्द्रीय कमिटीलाई पूर्णता दिदै ३ सय ३५ सदस्यीय बनाइएको हो ।
पार्टीको केन्द्रीय सदस्य संख्या विस्तार गर्नुका साथै नेताहरूको कार्यविभाजन समेत गरिएको छ । जसमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको समग्र नेतृत्व गर्ने र संसदीय दलको नेताको रूपमा काम गर्ने उल्लेख गरिएको छ । त्यस्तै झलनाथ खनाललाई सम्मानित नेताका रूपमा राख्दै विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
यसैगरी नेता मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई उद्योग वाणिज्य विभाग इन्चार्ज र प्रतिष्ठान इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला प्रमुख तथा उपाध्यक्षहरु क्रमश प्रमेश हमाललाई स्कुल विभाग, घनेन्द्र बस्नेत प्रदेश १ को इन्चार्ज, केदार न्यौपाने बागमती प्रदेश इन्चार्ज, केशवलाल श्रेष्ठ गण्डकी प्रदेश इन्चार्ज, धर्मनाथ प्रसाद साहलाई प्रदेश २ इन्चार्ज र जयन्ती राईलाई महिला फाँट इन्चार्जको जिम्मेवारी दिइएको छ ।
पार्टीका महासचिव डा. बेदुराम भुसाललाई संगठन र राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी दिइएको छ । त्यस्तै उप-महासचिव प्रकाश ज्वालालाई संगठन विभाग उपप्रमुख र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।