काठमाडौं : साताको अन्तिम कारोबार विहिबारका दिन नेप्से ४३.०५ अंक बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ । यो अघिल्लो दिनको तुलनामा १ दशमलव ४५ प्रतिशतले बढी हो । बिहीबार तीन सय ३४ कम्पनीको कारोबार भएको छ ।
बिहीबार तीन सय ३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३सय ४६ कित्ता शेयर ३ लाख ११ हजार ५३६ पटक खरिद बिक्री हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २ सय १६ बराबरको कारोबार भएको छ । त्यस्तै, बिहीबारको कारोबारको दिन सेन्सेटिभ इण्डेक्स ३.०८ अंकले बढेको छ, भने फ्लोट इण्डेक्स १.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७८ अंकले बढेको छ । बिहीबार १०५ स्टकको मूल्य बढेको छ, भने १३७ स्टकको मूल्य घटेको छ ।
बाँकी १ स्टकको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशत बढेको छ । सो उपसमूहका सबै बैंकहरुको शेयर मूल्य उच्च दरमा बढेसँगै परिसूचक पनि उच्च दरमा बढेको हो ।
त्यस्तै, यस दिन म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.०५ प्रतिशत घटेको छ । बिहीबार ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी ईनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, यस दिन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि बैंक, ग्लोबल आइएमई बैंक र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ ।
सो कम्पनीको यस दिन ९१ करोड ३३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन सानिमा माइ हाइड्रोपावरको ८३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने अपि पावरको ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।