नेपालगन्ज : नेपाली काँग्रेस बाँकेले वडा-वडामा पुगेर आफ्ना कार्यक्रम अगाडी बढाउने भएको छ । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा बिहीबार सम्पन्न भएको जिल्ला कार्यसमिति बैठकले आगामी भदौं २४ गतेदेखि ६ महिने अभियान सञ्चालन गर्ने गरी वडा-वडामा छिर्ने निर्णय गरेको हो ।
आगामी भदौं २४ गतेदेखि फागुन मसान्तसम्म ८१ वटै वडामा दोस्रो जिल्ला सम्मेलनबाट पारित ‘जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणमा बाँके काँग्रेसको अभियान’ सञ्चालन गर्ने निर्णय गरिएको प्रबक्ता डिल्ली गिरीले जानकारी दिएका छन् ।
जिल्लामा रहेका ८१ वटा वडाहरुको सांगठनिक अवस्थाको बारेमा जानकारी लिँदै वडा तथा टोलस्तरमा रहेका नेपाली काँग्रेसका अगुवा जेष्ठ नागरिक, महिला र युवाहरुको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्था विश्लेषण गर्दै उनीहरुलाई पार्टी संगठन सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने, स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार गर्नुपर्ने विषयमा जिल्ला तहबाट नीतिगत रुपमा पहलकदमी लिने लगायतका गतिविधि गरिनेछ । यसका लागि प्रतिनिधि खटाउने जिम्मेवारी जिल्ला सभापति गौडेललाई दिइएको छ ।
प्रतिनिधिका रुपमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्यहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सल्लाहकार, पूर्व महासमिति÷महाधिवेशन प्रतिनिधि, पूर्वजिल्ला कार्यसमिति पदाधिकारी÷सदस्यहरु तथा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखलाई खटाइनेछ ।