काठमाडौँ : मानव सेवा फाउन्डेसनका नाममा पशुपति क्षेत्रमा कोटीहोम आयोजना गरेका विवादित धार्मिक गुरु विजय भण्डारीलाई प्रहरीले पक्राउ गर्न खोज्दा तनाव उत्पन्न भएको छ । प्रहरीले केही कुरा बुझ्नु छ भन्दै भ्यानमा राखेर प्रहरी कार्यालय लैजाने प्रयास गर्दा शुक्रबार मध्य रातमा तनाव उत्पन्न भएको हो ।
कोटीहोममा रहेका उनका समर्थकहरूले प्रतिवाद गरेपछि प्रहरी ब्याक भएको छ । कोटीहोमको प्रारम्भदेखि नै कोटीहोमका आयोजकबारे निरन्तर विवाद सुरु भए पनि प्रहरी र स्थानीय प्रहरीले वास्ता गरेको थिएन । कोटीहोम समापन भएपछि भने शुक्रबार प्रहरीले उनलाई पक्राउको प्रयास गरेको हो । भण्डारी वैदेशिक रोजगार ठगी लगायतका विवादमा पर्दै आएका व्यक्ति हुन् । उनले आफूलाई ‘विष्णु प्रपन्नाचार्य’ र ‘बाल योगेश्वर महाराज’ का नामले चिनाउँदै आएका थिए ।
विभिन्न उपनाममा विजय भण्डारीले मानव सेवा फाउन्डेसनका नाममा धार्मिक गतिविधि गर्दै ठगीमा संलग्न हुँदै आएका थिए । उनी २०६८ बाटै पक्राउ पर्ने अनि छुट्ने गर्दै आएका थिए । उनी यस अगाडि वैदेशिक रोजगारी ठगी र कोटीहोमबाट उठाएर पैसा लिएर भागेको, लगायतका अभियोगहरूमा परेका थिए ।
भण्डारीले अमेरिका पठाउँछु भनेर ठगी गरेको अभियोगमा ०७१ भदौ ७ गते पक्राउ परेका थिए । उनले मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालको नाममा पैसा उठाएर ठगी गरेको आरोपमा तत्कालिन महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो । उनविरुद्ध १७ लाख १५ हजार विगो वरावरको ठगीमा जाहेरी परेको थियो ।
उनी ठगीको आरोपमा २०७१ मा १८ महिना र २०७६ मा १९ दिन जेल बसेर धरौटीमा रिहा भएका थिए । २०७१ मा उनीविरुद्ध २८ जना पीडितले १ करोड २७ लाख ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि २०७१ असोजमा पक्राउ परेका थिए । वैदेशिक रोजगार ठगीमा उनलाई वैदेशिक रोजगार न्यायाधीकरणले एक वर्ष, पाँच महिना कैदको फैसला गरेको थियो ।
२०७५ मा भएको फैसलाविरुद्ध उनी सर्वोच्च अदालतमा पुनरावेदन बोकेर अहिले बाहिर बसेका हुन् । २०७६ साल २८ देखि असोज ११ सम्म गुल्मी र सोही वर्ष माघ ११ देखि फागुन ११ सम्म चितवनमा भएको महायज्ञमा संकलन भएको रकमसहित फरार भएको आरोप उनीमाथी लाग्दै आएको छ ।