नेपालगन्ज : नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंरले पार्टीका कार्यकर्ताले आफ्नो जिम्मेवारी र दायित्व विर्सन नहुने बताएका छन् । पार्टीको सबैभन्दा तल्लो तहमा रहेको वडा सभापतिको गतिविधिले नै कांग्रेस बन्ने वा नबन्ने कुराको तय हुने उनको भनाई छ । नेपाल किसान महासंघ बाँकेको घोषणा सभालाई नेपालगन्जमा शनिबार सम्बोधन गर्दै उनले पार्टीभित्र पुरस्कार र दण्डको परिपाटी नहुँदा अराजकता बढेको बताए ।
‘पार्टीभित्र राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई कारबाही गर्न सकेनौं, पार्टीप्रति जिम्मेवार हुनुपर्छ भन्ने सोच कसैको भएन,’ राठौंरले भने । पार्टीभित्र एक जनाले मात्रै चाहेर कांग्रेस बनाउन नसकिने उनले बताए । पार्टीमा पद ओगट्ने, तर आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्न बिर्सने परिपाटीको अन्त्य गर्नुपर्ने प्रतिनिधि सभाका सांसद समेत रहेका नेता राठौंरले बताए ।
अर्को प्रसंगमा देशमा जति विकास भएका छन्, ति सबैमा कांग्रेसको देन भएको दाबी गरे । कानुनी राज्य स्थापना गर्नका लागि लडेको कांग्रेसभित्र कानुनी राज्य बनाउन कोही तयार नभएको उनले बताए । कांग्रेसले किसान महासंघको महत्वलाई बुझ्न नसकेको सह-महामन्त्री राठौंरले जोड दिए । ‘किसान महासंघ यति महत्वपूर्ण छ, किसान महासंघको वडा सभापतिले राम्रो काम गर्न सक्यो भने भोली उसले वडाअध्यक्ष जित्न सक्छ, पार्टीको वडा सभापति पनि बन्न सक्छ, किसान महासंघको महत्वलाई हामीले बुझेकै छैनौं,’ उनले भने ।
पछिल्लो समयमा पार्टीको भातृ संगठन किसान महासंघ गतिशिल भइरहेको आफुले पाएको नेता राठौंरले बताए । विपी कोइरालाले मात्र किसानको महत्व र आवश्यकतालाई बुझेको उनले स्मरण गरे । ‘विपी कोइरालाले सम्बोधन गर्दाखेरी किसानलाई सम्बोधन गर्नु हुन्थ्यो, किसानमा केन्द्रित भएर निर्णय गर्नुहुन्थ्यो, अहिले त कांग्रेसले किसान महासंघलाई बुझेकै छैन,’ राठौंरले थपे ।
नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुको सभापतित्वमा सम्पन्न भएको घोषणा सभालाई सम्बोधन गर्दै महासंघका केन्द्रिय अध्यक्ष गणेशचन्द्र तिमिल्सेनाले किसानले आफ्नो अधिकारका लागि लड्दा पार्टी र नेतामाथी आँच आउन नहुने बताए । कुनै नेतामाथी आँच आउने गरी गतिविधि नगर्न उनले निर्देशन दिए ।
आगामी मंसिर मसान्तभित्र ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न हुने विश्वास दिलाए । आफुले चाहेर पनि किसान महासंघ पुर्नगठन भएको ८ महिनासम्म पनि अधिवेशन गर्न नसकेको उनले स्वीकार गरे । अर्को प्रसंगमा किसानका लागि आवश्यक पर्ने मल, बीउको ब्यवस्था स्थानीय सरकारले नै गर्नुपर्ने अध्यक्ष तिमिल्सेनाले जोड दिए ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले वास्तविक किसान छुट्याएर किसानको पक्षमा काम गर्नुपर्ने आवश्यकता औल्याए । ‘म आफै किसानको छोरो हुँ, मैले हलो जोतेर यहाँ सम्म आईपुगेको हुँ, मलाई किसान र मजदुरको पीडा राम्रोसँग थाहा छ,’ गौडेलले भने ‘किसान महासंघले किसानको के कुरामा कमी छ, किसानसँग संगठन गर्न सक्ने हुनुपर्छ ।’ नेपाली कांग्रेस किसानको पक्षमा छ भन्ने अनुभुति महासंघले गराउन सक्नुपर्ने सभापति गौडेलले सुझाव दिए । ‘पदिय मर्यादा र काँग्रेसको विधि र विधानमा रहेर काम गर्नुपर्छ,’ उनले थपे ।
नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले किसानहरु निराश हुनुपर्ने अवस्था अहिले नरहेको बताए । बाँकेमा सिक्टा सिचाई आयोजनाको कामसँगै सिचाई सुविधा पनि किसानले पाउन थालेको बताउँदै उनले भने, ‘कृषिमा हामीले विकास गर्न सक्छौं, हाम्रा किसान दाजुभाईहरु निरास हुनुपर्ने अवस्था छैन ।’ किसानलाई आवश्यक पर्ने मल, बीउ ल्याउन प्रहरी प्रशासनले दिनुपर्ने मन्त्री कुर्मीले बताए ।
सो क्रममा नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रिता केसी, महासंघ बर्दियाका पुर्वअध्यक्ष महेन्द्र तिवारी, महासमिति सदस्य राजकुमार बर्मा, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ, नेतृ उमा थापामगर लगायतले शुभ कामना मन्तब्य ब्यक्त गरे । नेपाल किसान महासंघ बाँकेका उपाध्यक्ष मोहम्मद याकुव अन्सारीले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन सचिव महेन्द्र मल्लले गरेका थिए ।