नेपालगन्ज : थारु कल्याणकारिणी सभा बाँकेकी नवनिर्वाचित अध्यक्ष संगिता चौधरीले सभालाई क्रियाशील बनाएर परिणामुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । नेपालगन्जमा आईतबार पत्रकार सम्मेलन गर्दै उनले सभाले आफ्नो कार्यकालमा एक बर्षभित्र गर्ने कार्ययोजना समेत संगिताले सार्वजनिक गरिन् ।
महिला नेतृत्वमा आउँदा केही फरक र नमुना काम गर्न सक्छन् भन्ने सन्देश दिन आफू लागिपर्ने बताइन् । बाँकेमा सभाको १० कार्यकाल पुरुषहरुले नेतृत्व गर्दा पूरा हुन नसकेका एजेण्डालाई पूरा गर्ने प्रतिबद्धता जनाउँदै चौधरीले नवनिर्वाचित कार्यसमितिले तत्काल थारु कल्याण्कारिणी सभाको सम्पर्क कार्यालय स्थापना र व्यवस्थापन गर्ने बताइन् ।
सभाको अहिलेसम्म सम्पर्क कार्यालय छैन । यस्तै भवन निर्माणका लागि आवश्यक पहल गर्ने कार्य योजना पनि उनले सुनाइन् । थारु समुदायको विभिन्न चाडपर्वहरु मनाउनका लागि जिल्लाको विभिन्न ठाउँहरुमा कार्यक्रम आयोजना गर्ने र भब्यताका साथ चाडपर्व मनाउने, थारु कल्याणकारिणी सभाको गाउँपालिकाहरुमा बनेका समितिहरुलाई चलायमान बनाउने र वडा स्तरीय समितिहरु पनि निर्माण गर्ने, सामाजिक विकास कार्यका लागि स्थानीय, प्रदेश र संघ तथा सरकारी गैरसरकारी संघ संस्थाहरुसँग समन्वय गरी कार्यक्रमहरु ल्याउनपहलगर्ने कार्ययोजना नयाँ कार्यसमितिको छ ।
साउन ३२ गते सम्पन्न ११ औं अधिवेशनबाट संगिताको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो । कार्यसमितिको उपाध्यक्षमा बनिलाल थारु, परिना थारु र उषा चौधरी छन् । यस्तै सचिवमा विष्णु कुमारी चौधरी, सह–सचिव परशु नारायण थारु र कोषाध्यक्षमा मनोज कुमार थारु चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा कालुराम थारू, भिख्खुराम थारु, भगौतीप्रसाद थारु, जंगली थारू, लक्ष्मी थारु, दिपक थारू, निर्मला चौधरी, तिर्थ बहादुर चौधरी, संजय कुमार थारु र प्रदेशुराम थारु छन् । अधिवेशनबाट ८ जना पार्षद समेत चयन गरिएको छ । जस अनुसार नेमनारायण सिंह थारू, जनकबहादुर थारू, सन्तोष चौधरी, जागेश्वर थारु, चन्तरामथारु, विनोद थारु, जीतबहादुर थारु र चन्द्रबहादुर चौधरी रहेका छन् ।