नेपालगन्ज : नेपालगन्ज रंगशालामा निर्मित ‘सेन्थेटिक ट्रयाक’ का विषयमा अध्ययन समितिले छानविन सुरु गरेको छ । कमसल निर्माणका कारण सेन्थेटिक ट्रयाक उप्किएको समाचार दुई दिनअघि सार्वजनिक भएको थियो । राष्ट्रिय खेलकुद परिषदले राखेपका सदस्य समेत रहेका नेपाली क्रिकेटका पुर्वराष्ट्रिय कप्तान एल.बि. क्षेत्रीको संयोजकत्वमा गठित अध्ययन समिति रंगशालामै पुगेर छानविन सुरु गरेको हो ।
समितिले बुधबार नेपालगन्ज रंगशालामै पुगेर स्थलगत रुपमा अध्ययन गरेको छ । प्रारम्भिक अध्ययनका क्रममा समितिले सेन्थेटिक ट्रयाकमा निर्माण पक्षबाट प्राविधिक रुपमा केही त्रुटी गरेको कुरा औल्याएको छ । राखेपले सेन्थेटिक ट्रयाक निर्माण गर्नका लागि ठेकेदार कम्पनी ‘पञ्चकन्या/सिनकुट जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपैयाँमा ठेक्का दिएको थियो ।
सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकोमा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको थियो । निर्माण सम्पन्न भएको एक महिनामै उप्किएपछि सेन्थेटिक ट्रयाकको गुणस्तरमाथी प्रश्न उठिरहेको छ ।
अध्ययन समितिका संयोजक क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा सेन्थेटिक ट्रयाकको ‘डि एरिया’ मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जम्ने गरेको पाइएको बताए । ‘हामीले औपचारिक रुपमा अध्ययन गरेका छौं, यसका कमी, कमजोरी देखिएका छन्, त्यसलाई लिपिवद्ध गरेर उतार्छौ,’ उनले भने । सो क्रममा अध्ययन समितिका सदस्यहरु, नागरिक अगुवा, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, खेलकुद कर्मचारी, सञ्चारकर्मी लगायत उपस्थित थिए ।