नेपालगन्ज : नेपालगन्ज रंगशालास्थित विवादित ‘सेन्थेटिक ट्रयाक’ को युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बुधबार स्थलगत निरीक्षण गरेका छन् । हस्तान्तरण नहुँदै सेन्थेटिक ट्रयाक उप्किएपछि राष्ट्रिय खेलकुद परिषदले राखेपका सदस्य एल.बी. क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।
नेपालगन्ज आईपुगेका खेलकुद मन्त्री चौधरीले बुधबार रंगशालामा पुगेर स्थलगत रुपमा निरीक्षण गरेका हुन् । सो क्रममा उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा निर्माण भएका भौतिक संरचनाको पनि निरीक्षण गरे । स्थलगत रुपमा निरीक्षण गरिसकेपछि मन्त्री चौधरीले हालै निर्माण सम्पन्न भएको सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै उप्किएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएरै अनुगमन गर्न आएको बताए ।

उनले भने, ‘मिडिया तथा सञ्चारकर्मीले उठाइदिएर नै यो विषय बाहिर आएको हो, यसकारण पत्रकार साथीहरुलाई म धन्यवाद दिन चाहन्छु, सेन्थेटिक ट्रयाक अहिलेसम्म हस्तान्तरण भएको छैन ।’ हस्तान्तरण नहुँदै ट्रयाक उप्केको हुँदा त्यसको सबै जिम्मेवारी ठेकेदारले लिनुपर्ने मन्त्री चौधरीले प्रष्ट्याए ।
सेन्थेटिक ट्रयाक उप्किएको विषयमा राखेपले अध्ययन समिति निर्माण गरिसकेकाले सत्य तथ्य कुरा बाहिर आउने उनको विश्वास छ । ‘मेन्टेन गरेर पनि अन्र्तराष्ट्रिय मापदण्ड अनुसार ओके भएपछि मात्रै सेन्थेटिक ट्रयाक हामी हस्तान्तरण लिन्छौ, त्यसपछि दुई वर्षमा कुनै बिग्रियो, उप्कियो वा केही भयो भने सम्पूर्ण मेन्टेन गर्ने, रेखदेख गर्ने जिम्मा ठेकेदारको भएको हुनाले त्यसमा चिन्ता लिनुपर्दैन,’ चौधरीले भने ।
पत्रकारको अर्को प्रश्नमा राष्ट्रिय खेलकुद परिषदका निर्मित भौतिक संरचनाको संरक्षण गर्ने विषयमा मन्त्रालय गम्भिर रहेको बताए । ‘यस विषयमा ओएम सर्भे भइसकेको छ, ओएम सर्भे भईसकेपछि केही दिनपछि अर्थ मन्त्रालयमा हामीले यसको स्वीकृतिका लागि पठाउँदैछौं,’ मन्त्री चौधरीले भने ‘यो पठाईसकेपछि यहाँ कर्मचारी पनि आउन सक्छन, त्यसपछि हामीले प्रदेशलाई पनि हस्तान्तरण गर्न सक्छौं वा नगरपालिकालाई पनि हस्तान्तरण गर्न सक्छौं ।’
सबै भौतिक संरचना राखेपले मात्रै रेखदेख गर्न सक्ने अवस्था नरहेको उनले प्रष्ट्याए । अर्बौ रुपैयाँको लगानी बनेका भौतिक संरचना बेवारिसे राख्न नहुने मन्त्री चौधरीको भनाई छ । उनले थपे, ‘हामीले कर्मचारी राखेर हुन्छ कि के गरेर हुन्छ, रेखदेख गर्छौ । होईन भने स्थानीय तह वा प्रदेशलाई यो रंगशाला हस्तान्तरण गर्छौ ।’